धरान : धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम मंगलबार देखि सुरु भएको छ ।

धरानको वार्ड नं. २० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरू मणिराम राई र नेत्र प्रसाद काफ्ले सहितको टोलीले आज आवश्यक पर्ने औजार सामाग्रीहरू हस्तान्तरण गरेर कार्यक्रम सुरु गरेका हुन् ।

प्राविधिक महेश नेपालीका अनुसार बीपी पार्कदेखि चिन्डे डाँडा जाने २५ सय मिटर बाटो मर्मत गरिने भएको छ । खटिएका रोजगारदाताहरूलाई माटो फ्याल्ने ठेलागाडा २ थान, बेल्चा २ थान, सेप्टी टोपी, एप्रोन, ग्लोब्स (हातमा लगाउने पन्जा) र गम्बुट हस्तान्तरण गरिएको गरिएको छ ।

‘बाटो सोलिङ गर्ने, पहिरो नियन्त्रणका लागि ग्याविनको काम हुनेछ ।’ मेयर तिलक राईले आफ्नो गाउँ, आफै बनाऊ भन्ने उद्देश्य लिएर काम गर्न सुझाव दिए । ‘गत वर्ष हामीले राम्रोसँग काम गर्न सकेनौँ, गत वर्ष ८० लाख रुपैयाँ आएको थियो, हामीले राम्रो काम गर्न नसकेर ४० लाख रुपैयाँ मात्र आयो,’ मेयर राईले भने ।

मेयर राईले यस वर्ष राम्रो काम गर्न सकियो भने सरकारले अर्को वर्ष राम्रो बजेट दिन सक्ने बताए । उनले गत वर्ष वार्ड नं. २० को भन्ज्याङ जाने बाटो, वडा नं. १६ र वडा नं. १७ मा मात्र राम्रो काम भएको बताए । मेयर राईले वडाध्यक्ष, प्राविधिकहरूसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

मेयर राईले नागरिकहरू कतिले काम खोजी रहेको हुन्छ ? तर, काम पाइरहेको हुँदैन, त्यस कारणले बेरोजगारहरूलाई चाहिँ अनिवार्य सय दिनको काम दिनुपर्छ भन्ने मनसायबाट सरकारले यो कार्यक्रम पठाएको स्पष्ट पारे । प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो ठाउँको पनि विकास हुने, कम्तीमा रोजगारदाताको गुजारा समेत चल्न सक्ने मेयर राईको भनाई थियो ।

Pradhanmantri-Rojgar-2

वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नेपाल सरकारले २ वर्ष अघि देखि नै आफ्नै ठाउँमा काम गर्न चाहाने व्यक्तिहरूको लागि काम गरे बापत जीविकोपार्जन गर्नका लागि भनेर यो कार्यक्रम ल्याएको जानकारी दिए ।

उनले वडा नं. २० को बाटो मर्मत गर्नका लागि १० जनालाई छनौट गरिएको बताए । वरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर गत वर्ष ५ सय १७ रुपैयाँ पारिश्रमिक दिइएको थियो भने यस वर्ष एक जना रोजगारदाता बराबर ५ सय ७७ रुपैयाँ पारिश्रमिक दिइनेछ ।

Pradhanmantri-Rojgar-3