धरान : च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उपाधि एसपिसि धरानले जितेको छ । 

मङ्गलवार धरानमा भएको फाइनल खेलमा एसपिसिले ग्याटिस टिम माथि ५–० गोलक अन्तरमा सहज जित निकाल्दै उपाधी माथि कब्जा जमाएको हो ।

एसपिसिले उपाधि सँगै नगद एक लाख ११ हजार १ सय एघार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

फाइनल खेलमा हाइस्कोर उपाधि विजेता एसपिसिका अर्जिन भण्डारीले दुई, सुदर्शन श्रेष्ठ, अङ्कित भुजेल र एजि श्रेष्ठले एक एक गोल गरेका थिए । अर्जिनले प्रतियोगिता अवधिभर दश गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि ग्याटिसका समीर गुरुङ र उत्कृष्ट गोल किपर उपाधि एसपिसिका सारंश भट्टराईले जितेका छन् । उनीहरूले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् ।

उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासङ्घ केन्द्रीय प्रथम उपाध्यक्ष ,एन्फा केन्द्रीय सदस्य एवं पूर्व प्रवक्ता किरण राई, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, सिंगापुर लिफ टिम सदस्य विपिन लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।

मंगलबार सम्पन्न प्रतियोगिताको सेमिफाइनल खेलमा ग्याटिसले आयोजक मितेरी फुटसल टिमलाई ७ – २ र एसपिसिले च्याम्सलाई ३ – २ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

मितेरी फुटसल र सिंगापुरवाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको आयोजनामा यही असोज १० देखि सुरु भएको च्यारीटेवल प्रतियोगितामा ३६ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट उठेको रकमले धरान १३ नं वडामा रहेको पेट्रोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरू गरी ५० स्थानमा  ट्राफिक मिरर (कन्भेक्स मिरर)  लगाइने र धरानका पत्रकारहरूको पहलमा धरान १७ बिजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको संम्पुर्ण खेल धरान ११ नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न भएको थियो ।