धरान : विराटनगर महानगरपालिका-१५ को २ नम्बर ढाटबाट लागूऔषध ब्राउन सुगर सहित दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाइ सौगात आचार्य रहेका छन् । हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर १० ग्राम १२० मिली ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ५ बजे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-३ का २३ वर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ । यसै गरी हिजै बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चौक देखि दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटर पछाडि सवार रतुवामाई नगरपालिका-९ इटहरा का २१ वर्षीय गोविन्द थापाको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो ।

सो प्रतिबन्धित औषधी बरामद भए पश्चात् स्कुटर चालक उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।