झापा : झापाको दमक ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाले आफ्नो नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

गत असोज ९ गतेबाट सुरु सहकारीको नवौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको हो । संस्थाका ब्यवस्थापक दीपक खनालका अनुसार आर्थिक वर्ष ७७/७८ मा शेयर सदस्य संख्या ४ सय ४० पुगेको र खुद बचत ४ लाख १ हजार १ सय ६९ रुपैयाँ १६ पैसा रहेको छ ।

संस्थाको कुल कारोबारको हकमा अघिल्लो आर्थिक वर्षमा २ करोड ६९ लाख ३२ हजार ६ सय १० रुपैयाँ ५५ पैसा रहेकोमा आर्थिक वर्ष ७७/७८ मा २ करोड ८४ लाख ६४ हजार ४ सय ३४ रुपैयाँ ३८ पैसा पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै संस्थाले चालु वर्षको अनुमानित आय–व्यय ८ लाख ८६ हजार ७ सय ५० तथा वासलात ५ करोड १२ लाख २५ हजार रुपैयाँ पुर्याउने लक्ष्य राखेको संस्थाका व्यवस्थापक खनालले जानकारी दिए ।

यस्तै सो सहकारीले कृषि क्षेत्रमा लागेकाहरूलाई प्रोत्साहन गर्दै आएको र संस्था आफैले पनि दमक नगरपालिका वडा नम्बर ९ मा ५ बिगाहा जग्गा १० वर्षका लागि भाडामा लिएर प्राङ्गारिक खेती प्रवर्द्धन मिसन कार्यक्रम सञ्चालन गरी प्राङ्गारिक तरकारी उत्पादन तथा बिक्री वितरण गर्दै आएको संस्थाका उपाध्यक्ष सोमराज तामाङले जानकारी दिए ।