विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।

प्रदेश सरकारले प्रदेश स्तरीय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ति गरिसकेकाले अव अपाङ्गता सम्बन्धी सम्पूर्ण काम सो समितिले गर्ने उनले बताए । भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान हुँदै जाने बताएका हुन् । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन ।

प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै आज मन्त्री साम्सोहाङलाई ध्यानाकर्षण गराउन आएको राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ समितिको टोली समक्ष उनले सो कुरा बताएका हुन् ।

अपाङ महासङ्घको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवश्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने, दोभासेको नियुक्ति हुनुपर्ने लगायतका ५ बुँदे माग मन्त्री साम्सोहाङलाई बुझाएको थियो ।

प्रदेश स्तरका ऐन, कानुन, नीति, निर्देशिका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सवालहरू राज्यको नीति अनुरूप समावेशीकरण गराउन र सङ्घीय स्तरमा बनेका ऐन, कानुन, नीति, निर्देशिका र कार्यक्रमको कार्यान्वयनका लागि सकारात्मक दबाब दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासङ्घले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासङ्घ प्रदेश १ का कार्यक्रम अधिकृत सरोज नेपालीले बताए । मन्त्री साम्सोहाङँले महासङ्घले राखेका माग प्रति आफू सकारात्मक रहेको बताए ।