इटहरी : आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ ।

सुनसरी जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा इटहरीमा असोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधवार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रीय रङ्गशालाको इनडोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए ।

छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाडौँ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण बुधवार सकिएकाले तिनै टाउको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो ।

गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो । मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एसिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ ।

जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, युएई र हङकङ खेल्नेछन् । एसिया छनोटको विजेता पाँच क्षेत्र बिच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

महिला क्रिकेट खेलाडीलाई ब्याड वितरण
मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक–एक थान क्रिकेट ब्याड हस्तान्तरण गरेको छ ।

Cricat

इटहरीमा बुधवार एक कार्यक्रमका बिच सेन्टरले राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रु बिना क्षेत्री सहित प्रदेश १ र २ का एघार जना खेलाडीलाई ब्याड वितरण गरेको हो । महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चलराज शाक्यको प्रायोजनमा १५ हजार मूल्य बराबरको ब्याड वितरण गरिएको सेन्टरका अध्यक्ष विप्लव घोषले बताए ।

क्रिकेटका खेल सामाग्री महँगो भइरहेको अवस्थामा निःशुल्क रूपमा पाएको स्तरीय ब्याडले खेलाडीहरूको प्रदर्शनमा सहयोग पुग्ने पहिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक वर्ष मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगा गराउँदै आएको छ । यस्तै क्रिकेट खेलाडीहरूलाई विभिन्न सहयोग र हकहितको क्षेत्रमा काम गर्दै आएको छ ।