इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले नयाँ नेतृत्व पाएको छ । असोज ९ गते सम्पन्न निर्वाचन मार्फत सभापतिमा हेमकर्ण पौडेल सहितको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय उपसभापति विकाश केसीलाई पराजित गर्दै पौडेलले तेस्रो कार्यकाल नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।

१२ औँअधिवेशनमा सर्वसम्मत सभापति भएका पौडेल १३ औँ र १४ औँ अधिवेशनमा उनै केसीलाई पराजित गर्दै नेतृत्वमा पुगेका हुन् । सभापतिमा पराजित भएसँगै केसीले पौडेललाई सफल बनाउन आफू हरदम सहयोग गर्न तयार भएको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट विरुद्ध लड्न पौडेलको नेतृत्वमा मैदानमा जानुपर्ने भएकाले त्यसको लागी आफू तयार भएको उनको भनाई छ । त्यससँगै उनले नवनिर्वाचित पौडेल नेतृत्वको कार्यसमितिलाई ५ बुँदे सुझाव दिएका छन् ।

आफ्नै भवनमा पार्टी कार्यालय

'प्रदेश १ को केन्द्र मानिएको इटहरीमा स्वभावैले धेरै नेता तथा कार्यकर्ताको आवतजावत हुन्छ । प्रदेश भरीका र केन्द्रका पनि नेताहरूको आगमन भइरहने नगर हो इटहरी । तर इटहरी काँग्रेसको पार्टी कार्यालय भाडाको घरमा सञ्चालन हुनु राम्रो कुरा हैन । चुनावी दौरानको क्रममा कार्यकर्ता समक्ष मैले पार्टी कार्यालय बनाउने बाचा गरेँ । निर्वाचनमा म पराजित भए । तर मेरो मुद्दा स्थापित गराउन म लागी पर्छु । पार्टी कार्यालय बनाउने ठुलो कुरा हैन । त्यसको लागी दृढ सङ्कल्पको खाँचो छ ।

यो समितिले सङ्कल्प गरोस् म सहयोग गर्न तयार छु । काँग्रेस निकट व्यापारी व्यवसायी समेत सहयोग गर्न तयार रहेको अवस्थामा आफ्नै भवन भएको कार्यालय बनाउन सकिन्छ । जसको कारण कार्यकर्ता भेटघाट देखी नियमित बैठक र छलफल समेत प्रभावकारी ढङ्गले सञ्चालन हुन्छ । पार्टी कार्यालय बनाउने अभियानमा म खुलेर सहयोग गर्छु , सभापति जी ले सहयोग गर्ने वातावरण बनाइदिनुपर्‍यो ।'

नियमित क्रियाशील भेला

क्रियाशील भेला मार्फत कार्यकर्ताबिच चिनजान र भाइचारा बढ्छ । कार्यकर्ता बिच घनिष्ठ सम्बन्ध भयो भने पार्टी मजबुत हुन्छ । अहिले २० नम्बर र १३ नम्बर वडाका क्रियाशील बिच सामान्य चिनजान समेत छैन । कार्यकर्ता बिचको सम्बन्धनै पार्टी मजबुतीको आधार हो । सकिन्छ भने हरेक ६ महिनामा हैन भने हरेक वर्ष क्रियाशील भेला गर्नुपर्छ । त्यसले गर्दा गाउँमा भएका क्षमतावान् युवाहरू नेतृत्वमा आउने बाटो खुल्ला हुन्छ । सबै कार्यकर्ताले सङ्गठन भित्र अवसर पाउन थाल्छन् । अनि इटहरी काँग्रेस बलियो हुन्छ ।

सिद्धान्त र कार्यक्रमको बहस

पार्टीको आकर्षण भनेको त्यसको सिद्धान्त र कार्यक्रम हो । हिजो हामीले विद्यार्थी राजनीति गर्दा काँग्रेस पार्टीका मुख्य मुद्दाहरू राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको विषयमा बहस गर्‍यौ । अहिले त्यो कतै पनि सुनिँदैन । पार्टीले आगामी दिनमा लिने कार्यदिशाको विषयमा बहस हुनुपर्‍यो । स्थानीय कार्यकर्ताबाट आएका सुझावको आधारमा पार्टीको कार्यक्रम तय गर्नुपर्छ । अनीमात्र काँग्रेस लोकतान्त्रिक पार्टी भन्ने आभास हुन्छ ।

अहिले पार्टीको नयाँ कार्यक्रम र विगतमा काँग्रेसको भूमिका बारे कतै बहस र छलफल भएको पाइँदैन । आन्तरिक गुट र समूहमा रमाउने कुराले पार्टी बलियो हुँदैन । त्यसैले इटहरी काँग्रेसले क्रियाशील भेला मार्फत पार्टीको सिद्धान्त र कार्यक्रम माथि बहस गर्नुपर्छ भन्ने मेरो बुझाई छ । त्यसमा स्थानीय आदिवासी जनजातिको मुद्दा प्राथमिकताका साथी अगाडी बढाउनुपर्छ ।

युवा स्वरोजगारमा जोड

युवालाई रोजगारी दिने कुरा राज्यसँग सम्बन्धित विषय हो । तर राजनैतिक दलपति राज्यको एउटा अङ्ग हो । लोकतन्त्रमा पार्टी मजबुत भए मात्र लोकतन्त्र सबल बन्न सक्छ । पार्टी बलियो हुन कार्यकर्ता सबल र सक्षम हुनुपर्छ । त्यसको लागी कार्यकर्ताहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । भ्रष्टाचारकै लागी राजनीतिमा लाग्ने कार्यकर्ता भनभने न देश लाई फाइदा हुन्छ न पार्टीलाई । त्यसैले इटहरी काँग्रेसले नमुनाको रूपमा अब युवा स्वरोजगारमा जोड दिनुपर्छ । विभिन्न विकाश बजेटलाई युवाको सिप र क्षमता अभिवृद्धिमा प्रयोग गर्न सकिन्छ । स्थानीय तह सँगको समन्वयमा आफ्ना कार्यकर्तालाई रोजगारीमा जोड्नुपर्छ । कार्यकर्तालाई आर्थिक उपार्जन सँग जोडियो भने पार्टी मजबुत हुनेमा म ढुक्क छु ।

योगदानको आधारमा क्रियाशील सदस्यता

पार्टीमा काम गर्नेको लागी मात्र क्रियाशील सदस्यता वितरण गरिनुपर्छ । हिजो जसरी पार्टी नेतृत्वले गलत तवरले पार्टी कब्जा गर्ने हेतुले क्रियाशीलता वितरण गर्‍यो त्यो गलत थियो । भन्दा क्रियाशील सदस्यता भन्ने तर पार्टीमा एक सुको योगदान नगरेकाहरू ठुलो ठाउँका लायक हुने भए । यसले गर्दा योगदान गरेका पुराना कार्यकर्ता निराश हुँदै गएको मैले पाएको छु । अब क्रियाशील वितरण गर्दा योगदानको आधारमा समावेशी ढङ्गले वितरण गरिनुपर्छ अनीमात्र पार्टी भित्र आकर्षण बढ्छ ।