धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धरान नगर अधिवेशनबाट निर्वाचित भएका नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ ।

बुधवार धरान-१२ स्थित गीता भवनमा काँग्रेस धरानका निवर्तमान सभापति एवं मेयर तिलक राईको सभाध्यक्षमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिद्वारा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको हो ।

काँग्रेस धरानको नगर अधिवेशन असोज ९ गते भएको थियो । उक्त अधिवेशनबाट नगर सभापति श्याम पोख्रेलको नेतृत्वमा पदाधिकारी सहित १ सय १ जना सदस्यहरू निर्वाचित भएका छन् ।

नगर सभापतिका प्रत्याशी किशोर राईले नव निर्वाचित सभापति पोख्रेलको नेतृत्वलाई शुभकामना दिँदै यो अधिवेशन गैर पार्टीसँगको प्रतिद्वन्द्व नभई काँग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको बताए ।

उनले काँग्रेसको कार्यकर्ताहरूलाई भोलिको दिनमा अन्य गैर काङ्ग्रेससँग लड्न सक्ने, भिड्न सक्ने र आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्न सक्ने बनाउन अबको कार्यसमितिले गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित नगर सभापति श्याम पोख्रेलले आफ्नो समूहले पार्टीको सिर उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । नगर सभापति पोख्रेलले नेपाली काँग्रेस नगर समिति तिहार पछि लगत्तै आफ्नो सङ्गठन विस्तार गर्न टोल टोलमा प्रवेश गर्ने कार्यक्रम मार्फत घोषणा गरे ।

‘तिहारपछि काँग्रेसको नगर समिति गाउँ गाउँमा प्रवेश गर्छ, टोल टोलमा जान्छ, नगर समिति पार्टी अफिसमा मात्र बस्दैन, अब २० वटै वडामा छरिएर जान्छ,’ नगर सभापति पोख्रेलले भने । नगर सभापति पोख्रेलले सबैसँग समन्वय गरेर मात्र पार्टी सञ्चालन गर्ने बताए । नगर समितिको कोषाध्यक्ष पदमा सर्वसम्मत रूपमा निवर्तमान नगर सहसचिव पञ्चकला राईलाई मनोनीत गरिएको सभापति पोख्रेलले घोषणा गरे ।

निवर्तमान सभापति एवं मेयर तिलक राईले निर्वाचनमा अधिकृत र प्रतिनिधिको रूपमा खटिएका सिङ्गो शिक्षक टिमलाई धन्यवाद दिए ।

निवर्तमान सभापति एवं मेयर राईले असोज २२ गते धरान १५ स्थित चुम्लुङ भवनमा नव निर्वाचित नगर समितिलाई पदस्थापन गराउने कार्यक्रम मार्फत जानकारी गराउँदै पदस्थापन कार्यक्रममा उपस्थित हुन आग्रह गरे । आफू सभापति भएको पुरानो टिमले सम्पूर्ण कागजात, जिन्सी, नगद र कार्यालय पदस्थापनका दिन जिम्मा लगाउने उनले उद्घोष गरे ।