धरान : नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् ।

गाउँपालिकाको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ ।

आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मङ्सिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।

सोही विस्तारित बैठकको अवसरमा सङ्घीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् । यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरू माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए ।

कानेपोखरी वडा नम्बर २ मैनाबारीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो सङ्ख्यामा एमालेका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपी अछामी, सह इन्चार्ज कुशल लिम्बू, संयोजक गणेश उप्रेती, प्रदेश सदस्य दीपक भट्टराई, लालबहादुर सुस्लिङ मगर(सबिन), नेतृ गीता तिम्सिना लगायतले स्वागत गरेका थिए ।

यस्तै विस्तारित बैठकमा कानेपोखरी माओवादीका इन्चार्ज राजेन्द्र मण्डल, सह इन्चार्ज अम्बिका अर्याल, प्रदेश सल्लाहकार सदस्य द्वय खुल्लु राजवंशी, सूर्य धिमाल, वाइसिएल मोरङ जिल्ला सचिव नवीन गुरुङलगायतको उपस्थिति थियो ।