धरान : चाडपर्व नजिकिँदै गर्दा घर लिपपोतका लागि सबै जना लाग्ने गर्दछन् । अझ दसैँ तिहार त यस्तो पर्व हो घर सिँगार पटार गर्ने सबैको रहर हुन्छ । तर धरान २० आपटारको पहिरो पीडित ७ घर परिवारको रहर र सपना एक वर्ष अघि नै पहिरोले तुहाई दिएको छ । आफू बसेको जग्गा जमिन र घर पहिरोले बगाएपछि पहिरोबाट विस्थापित ७ घर परिवार एक वर्ष देखि टेन्टमै कष्टकर जीवन बिताइरहेका छन् ।

धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकाको आपटारमा गएको पहिरोबाट विस्थापित सात घर परिवारलाई एक वर्षसम्म दीर्घकालीन व्यवस्थापन नहुँदा रेडक्रसले दिएको टेन्टको भरमा जीवन बिताउन बाध्य भएका हुन् ।

एक वर्ष अगाडि असोजमै गएको पहिरोका कारण ७ घरपरिवार विस्थापित बनेका थिए । पहिरोकै कारण सर्वस्व गुमेको थियो । तत्कालका लागि स्थानीय भक्त लिम्बुको जग्गामा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. २० ले व्यवस्थापन गरिदिए पनि त्यही जग्गामा टाँगिएको टेन्टमा ती सात घर एक वर्ष कष्टकर जीवन बिताउँदै आएका छन् ।

पीडित सपना राईले घरबारी नै पहिरोले बस्नै नसक्ने बनाएको एक वर्ष बितिसक्दा पनि सङ्घीय, स्थानीय र प्रदेश सरकारले आश्वासन मात्र दिएको बताइन् । उनले नेपाल रेडक्रस सोसाइटीले दिएको टेन्टको बासबाहेक स्थानीय सरकारले समेत केही सहयोग नगरेको गुनासो पोखिन् ।

उनले पहिरो गएको तीन महिना भित्रा पीडितहरूलाई दीर्घकालीन व्यवस्थापनका लागि पीडित समक्ष पुगेर प्रदेश र स्थानीय सरकारले आश्वासन दिएको भए पनि केही सहयोग नपाएको गुनासो पोखिन् ।

बस्ने त्यही एउटा टेन्ट पनि पानी परेको बेला चुहिने गरेको उनको गुनासो छ । हावाहुरीसँगै आएको बर्सादका कारण टेन्ट उडाउला भन्ने डरले रातभर टेन्ट समाएर बस्नुपरेको उनको पिडादायी भनाई छ ।

यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर सांसद हुँदै मुख्यमन्त्री समेत भएका भीम आचार्यले समेत पीडित भएकै स्थानमा दीर्घकालीन समस्या समाधान गर्ने आश्वासन दिए पनि मुख्यमन्त्री भइसके पछि एक पटक पनि पीडितको अवस्थाका बारेमा बुझ्न नआएको पहिरो पीडितको दुखेसो छ ।

७० वर्षीय मानबहादुर राईको समेत अवस्था उस्तै छ । उनले त झन् आश्वासन दिन आउनेहरूबाट अब विश्वासै हराएर गएको बताउँछन् ।

उनले बर्षयाममा प्रदेश र स्थानीय सरकारका १० देखि २० टोली आएर हेरे पनि आफूहरूको अवस्था जस्ताको तस्तै भएको गुनासो पोख्छन् । एक वर्ष बित्दा सम्म टेन्टको बासको पिडा भनिसाधे नभएको उनी बताउँछन् ।

पहिरो गएपछि प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राई, यही क्षेत्रबाट निर्वाचित भएका हालका मुख्यमन्त्री भीमप्रसाद आचार्य, धरान नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी मात्र हैन आफ्नै वडाका वडाध्यक्ष मणिराम राई समेत पुगेर आश्वासन दिएको तर समस्या समाधानमा कोही पनि गम्भीर नभएको पहिरो पीडितहरूको गुनासो छ ।

यस विषयमा धरान उपमहानगरपालाका प्रवक्ता एवम् वडा नं. २० का वडाध्यक्ष मणिराम राईले उनीहरूको दुःख देखेर पनि व्यवस्थित गर्न नसकेकोको बताए ।

२०७७ साल असोज ३ गते धरानको वडा नं २० साबिक विष्णुपादुका स्थित आपटारमा निरन्तरको वर्षा र पहिरोबाट ७ घर परिवार विस्थापित भएका थिए । स्थानीयका अनुसार भदौ १५ गतेदेखि निरन्तर पहिरो खस्न थालेको थियो ।

वर्षा पनि निरन्तर भएपछि पहिरोबाट ७ घर परिवार विस्थापित भएका हुन् । तर पहिरो गएको एक वर्ष भन्दा बढी समय भइसक्दा पनि पीडितहरूको समस्या समाधान भन्दा पनि आश्वासनको पोको बोकेर बसिरहे । अब त उनीहरू आश्वासन दिनेहरूसँग पनि विश्वास गर्न छाडिको बताउँछन् ।

Aptar-Pahiro-1