झापा : जङ्गली हात्तीको आक्रमणमा परी झापामा एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणपछि बेपत्ता झापा बिर्तामोड ८ की लट्टुमाई मर्डीको आज शव फेला परेको हो ।

निगुरो खोजेर विक्री गर्दै दैनिकी चलाउने लट्टुमाई र उनका श्रीमान् शुकलाल मर्डी बिहान भद्रपुर १० मा पर्ने चारआली जङ्गलमा निगुरो खोज्न गएका थिए ।

उनको शव भद्रपुर-१० स्थित सेती खोला पैनीमा खोजीका लागि खटिएको सुरक्षा निकायको टोलीले फेला पारेको थियो । निगुरो खोज्ने क्रममा लट्टुमाईलाई हात्तीले आक्रमण गरेपछि शुकलालले भने भागेर ज्यान जोगाएका थिए ।

श्रीमान् श्रीमतीसँगै निगुरो खोज्न गएका उनीहरू मध्ये लट्टुमाईलाई लगभग १० बजेतिर हात्तीले आक्रमण गरेको शुकलालले बताए । हात्तीको आक्रमणबाट भागेर बचेका शुकलालले बस्तीमा पुगेर घटनाबारे जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो । ।

हात्तीको आक्रमण पछि लट्टुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयको सहयोगमा अपराह्न ४ बजेतिर शव भेटिएको हो ।