इटहरी : प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा काँग्रेस सभापतिका लागी ४ जना आकाङ्क्षी देखिएका छन्। मोरङ जिल्ला भरी असोज १६ गते हुन लागेको अधिवेशनमा चौतर्फी प्रतिस्पर्धा हुने भएको हो ।

मोरङ संस्थापन इतर पक्षको बलियो पकड भएको जिल्ला हो। त्यसमा पनि विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ। डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगरमा उनकै टिमबाट ३ जनाले उम्मेदवारी दिने सम्भावना बढेको छ । कोइराला निकट अरुण न्यौपाने, दीपक चापागाईँ र कृष्ण कार्कीले उम्मेदवारी दाबी गरेका छन् । तिनै जना एउटै टिमका प्रभावशाली युवा नेताहरू हुन् ।

अरुण न्यौपानेलाई बहालवाला सभापति तथा मेयर भीम पराजुलीको बलियो साथ छ । प्रदेश १ काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि उनलाई सघाएका छन् । कार्की र पराजुलीको बलियो जनाधारको बलमा सभापति जित्नेमा विश्वस्त छन् न्यौपाने । कोइराला निकट मानिएका पराजुली र कार्कीले टिमको उम्मेदवार उनै भएको दाबी गर्दै आएका छन् ।

सोही टिमका बलिया उम्मेदवार हुन दीपक चापागाईँ । कोइराला निकट उनले एकबर्ष देखी सभापतिको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । सामाजिक क्षेत्रमा पनि सक्रिय उनले डा. कोइरालाको जस्तै एक व्यक्ती एक पदको मुद्दालाई अगाडी बढाएका छन् । युवालाई काँग्रेस भित्र आकर्षित गर्ने कार्यक्रम ल्याएर उदार लोकतन्त्रको अभ्यास गरेर देखाउने उनले बताएका छन् । मोरङबाट प्रतिनिधित्व गर्ने डाक्टर कोइराला, डा. मिनेन्द्र रिजाल र महेश आचार्य लगायत नेताहरूले उनलाई समर्थन गरेका छन् ।

महानगरको सभापतिका अर्का आकाङ्क्षी कृष्ण कार्की नेविसंघका पूर्व केन्द्रीय सह-महामन्त्री हुन् । विराटनगरमा लोकप्रिय छवि बनाएका उनले आफू सभापतिको उम्मेदवार हुनेमा पक्का भएको बताएका छन् । नेपाली काँग्रेसको तेस्रो धार मानिएको कृष्ण सिटौला र गगन थापा टिमको मानिएका कार्की विराटनगरमा बाबुराजा ओझा निकट छन् । ओझा कोइराला प्यानलका शक्तिशाली नेता भएको कारण उनको प्रभाव बलियो छ ।

उता संस्थापन पक्षबाट सन्तोष न्यौपाने सर्वसम्मत उम्मेदवार भएका छन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी तरुण दलका महानगर अध्यक्ष हुन् । काँग्रेसमा पुस्तान्तरको मुद्दा सहित उनी चुनावी मैदानमा होमिएका छन् । युवालाई नेतृत्वमा अवसर दिनुपर्ने भन्दै क्षेत्रीय प्रतिनिधि समक्ष भोट माग्दैछन् न्यौपाने । मोरङ काँग्रेसमा पूर्व सभापति अमृत अर्याल निकट मानिएका उनी इतरपक्षमा धेरै उम्मेदवार भएकाले विजयी हुनेमा ढुक्क देखिन्छन् ।

इतरपक्षको उम्मेदवारमा सहमतिको सङ्केत

लामो समय देखी मोरङमै खटिँदै आएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सहमतिको प्रयास अगाडी बढाएका छन् । केही दिन देखी निरन्तर वार्ता र छलफल भइरहेकोले इतर पक्षबाट एक जना मात्र उम्मेदवार हुनसक्ने उनले बताए ।

कसले कसलाई छाड्ने भन्ने विषयमा यकिन नभएको तर मनोनयन दर्तापछि पनि ठोस निर्णय हुनसक्ने उनको भनाई छ । भोलि काँग्रेसलाई आवश्यक पर्ने जिम्मेवारी सहितको नेतृत्व चयन हुनेमा आफू विश्वस्त भएको उनको तर्क छ।