धरान : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज देखि सुरु हुँदै छ ।

राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुङ्गो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चल्ने बताइएको छ । महाधिवेशन मूल आयोजक समितिका अनुसार ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेस हुनेछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

एमालेले विधान महाधिवेशन प्रतिनिधिहरूलाई सात दोबाटोबाट महाधिवेशन स्थलसम्म बसमा लैजाने व्यवस्था मिलाएको छ । त्यस्तै प्रतिनिधिहरूलाई बिहान हाइजेनिक खाना र दिउँसो खाजाको व्यवस्था गरिएको व्यवस्थापन समितिले हिजो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने विधान महाधिवेशनको उद्घाटन सत्रलाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । बन्द सत्रमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने र समूहका नेताबाट निष्कर्ष प्रस्तुत हुनेछ । समूह नेताहरूबाट आएको सुझावका आधारमा प्रतिवेदन पारित गरिने बताइएको छ ।

विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा हुदैछ । केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रूपमा रोजेको हो । ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत वैशाखमा उद्घाटन गरेका थिए ।

३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । जसमध्येका ३ हजार जना मूल हलमा बस्ने छन् । बाँकी ३ हजारका लागि बस्न दायाँ बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ । जिल्ला सम्पर्क मञ्चहरूको समन्वयमा प्रतिनिधिहरूको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए ।

केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यहाँबाट दैनिक पत्रकार सम्मेलनको व्यवस्था गरिएको छ ।

महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयंसेवक खटाइने भण्डारीले बताए। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले मास्क, स्यानिटाइजर लगायतको व्यवस्था गरेको छ ।