झापा : असोज १२ गतेदेखि सुरु भएको दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको छनौट खेल जारी रहेको छ ।
छनौट खेल अन्तर्गत कनकाईको तर्फको छनौट खेलमा बिहीबार वार्ड नम्बर ४ र ५ विजयी बनेका छन् ।
वडा नम्बर ४ ले १ लाई १–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । ४ नम्बरको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा पाएको फ्री किकलाई सदुपयोग गर्दै संदिप रसाइलीले एक मात्र गोल गरे । यसपछि १ नम्बरका खेलाडीका धेरै प्रहारमा ४ का गोलकिपर मनिस मगर बाधक बन्दा कनकाई ४ विजयी बनेको हो ।

यसै गरी अर्को खेलमा वार्ड नम्बर ५ ट्राईब्रेकरमा विजयी बनेको छ । ५ ले ७ नम्बर वार्डलाई ट्राईब्रेकरमा ६–५ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो । खेल अवधिभर र थप गरिएको समयमा समेत दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो । कनकाई माविको खेल मैदानमा भइरहेको खेलबाट कनकाई नगरपालिकाका उत्कृष्ट २ टिमले दिलमाया स्मृति कपको क्वाटर फाइनलमा प्रवेश पाउने आयोजक दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले बताए ।

यस्तै, झापा गाउँपालिकाबाट वडा नम्बर ६ र ७ छनौट भएका छन् । गत मंगलबार देखि जारी छनौट खेलमा यी दुई टिम फाइनलमा प्रवेश गरेसँगै दिलमाया स्मृति कपमा सिट सुरक्षित गरेका हुन् ।

बिहीबार भएको खेलमा वडा ६ ले ५ लाई जित्दै दिलमाया स्मृति कपमा आफ्नो सिट सुरक्षित गर्न पुगेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइब्रेकरमा वडा ६ ले ७–६ को गोलान्तरले ५ माथि विजय हासिल गरेको हो ।

त्यस्तै बुधवार वडा ७ ले वडा ३ लाई १–० को गोलान्तर पराजित गर्दै विजयी बनेको थियो । यो सँगै फाइनलमा प्रवेश गर्ने यी दुई टिम दिलमाया स्मृति कपमा भाग लिन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राइले बताए ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । नेपाल खेलकुद महासङ्घको आयोजनामा हुने फुटबल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७-७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् ।

२८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने खेल व्यबस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारी ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।

खेलमा प्रथम पुरस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ । त्यस्तै सेमिफाइनल र क्वाटर फाइनल पुगेका टिमले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २५ हजार र उपबिजयी हुने टिमले १ लाख २५ हजार रुपैयाँ पाउनेछन् । यसै गरी उत्कृष्ट ८ टिमले समेत नगद पुरस्कार पाउने मूल आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए ।