धरान : नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिको अध्यक्षमा फोक्वाहाङ सुब्बा चोत्लुङलाई चयन भएका छन् ।

असोज १० गते बसेको बैठकले पार्टी विधानको धारा ४५ बमोजिम धरान उपमहानगर कमिटीको रिक्त रहेको पदहरूमा फोक्वाहाङ सुब्बा चोत्लुङ, उपाध्यक्षमा दिल बहादुर रामदाम, सह सचिवमा चेताना श्रेङ, कोषाध्यक्षमा रमेश राईलाई चयन गरिएको छ ।

नवनिर्वाचित सदस्य तथा पदाधिकारीहरू लाई जिल्ला समन्वय समिति सचिव सपना परियार सन्ध्याले शपथ ग्रहण गराएका थिए ।

असोज १० गतेको बैठकले सङ्गठित सदस्यता नवीकरण र पार्टी सदस्यता वितरण कार्य अगाडी बढाउने, वडाहरूको तत्काल बैठक बसी वडा सम्मेलनको तयारी गर्ने साथै ३ सदस्यीय निर्वाचन समिति ( १ महिला अनिवार्य ) गठन गरी नगरमा सिफारिस गर्न निर्देशन पनि गरेको छ ।

यसै गरी अध्यक्ष चोत्लुङको अध्यक्षतामा असोज १४ अर्को बैठक बसी रिक्त रहेका नगर सदस्यहरूको मनोनीत गरिनुका साथै सचिवालय पनि गठन भएको छ नेकपा माओवादी धरान उपमहानगर कमिटीले जनाएको छ ।