झापा : डेढ वर्ष अघिदेखि बन्द रहेको भारतीय सवारी साधनले भन्सार महसुल बुझाएर नेपाल घुम्न पाउने सुविधा आजदेखि खुलेको छ ।

कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको भारतीय नाका पानीट्याँकी हुँदै कुनै पनि सवारी साधन नेपालको काँकडभिट्टा नाका भएर भित्रिन पाएका थिएनन् ।

अब सरकारले भन्सार खुला गरेसँगै भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश गर्न पाउने भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न पाउने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

नेपाल सरकारले शुक्रवारबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि नियम अनुसारको राजस्व बुझाएर निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार लामो दुरीमा भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र छोटो दुरीमा सुविधा लिनुपर्ने हुन्छ ।