धरान : धरानमा पनि ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

शुक्रवार धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले आफूसँग भएका प्रतिभाहरू प्रदर्शन गरेका थिए ।

उनीहरूले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरूलाई मेयर तिलक राईले माला लगाएर छाता वितरण गरेका थिए ।

मेयर राईले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना दिँदै ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा पनि बोझ नभई वरदान साबित हुने बताए ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठुलो प्रेरणाको स्रोत बन्न सक्ने मेयर राईको भनाई थियो । मेयर राईले अब ज्येष्ठ नागरिकहरूलाई वर्षमा एक पटक मात्र सम्झँदैन दुई देखि तिन महिनाको अन्तरालमा कार्यक्रमहरू व्यवस्थित गरेर ज्येष्ठ नागरिकहरूसँग भेटघाट गर्ने, ज्येष्ठ नागरिकहरूसँग भएको अनुभवहरू साटासाट गर्ने, भलाकुसारी गर्ने धारणा व्यक्त गरे ।

सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले धरानका २० वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरिएको जानकारी दिए । ज्येष्ठ नागरिकहरूको सम्मानका निम्ति उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको उनले बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूले राज्यले ज्येष्ठ नागरिकहरूलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ज्येष्ठ नागरिक मिलन केन्द्र धरानका सभापति सरला कायस्थ, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपसभापति कुमार ब. कार्की लगायतले सम्बोधन गरेका थिए ।

Jestha-Nagarik Jestha-Nagarik-1