चतरा : चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको उपाधि कालागि जेएसवाईसी मोरङ र एभरेस्ट फुटबल क्लब नडाहाका बिच भिडन्त हुने भएको छ ।

शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एभरेस्टले हाटखोलालाई २ को विरुद्ध ५ गोलले पराजित गरे सँगै प्रतियोगिताको फाइनलको समीकरण पूरा भएको हो ।

बिहीबार पहिलो सेमिफाइनल खेलमा जेएसवाईसी मोरङले ग्रिम कल्चरलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।

गोलको वर्षा भएको दोस्रो सेमिफाइनल खेलमा एभरेस्ट विरुद्ध हाटखोलाले खेलको सुरुवातमै अग्रता लिए पनि अग्रतालाई रक्षा गर्न नसक्दा पराजित हुनु पर्‍यो। हाटखोलाले खेलको दोस्रो मिनेटमै गोल गरेको थियो । टिम क्याप्टेन वर्तमान राईले गोल गर्दै हाटखोलालाई अग्रता दिएका थिए ।

तर पहिलो हाफकै ११ मिनेटमा एभरेस्टका निशान लिम्बूले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए । पुनः खेलको १९ औँ मिनेटमा सञ्जय श्रेष्ठले गोल गर्दे एभरेस्टलाई अग्रता दिलाएका थिए । त्यस पछि क्रमशः पहिलो हाफकै २३ र २८ मिनेटमा गोल गर्दै निशान लिम्बुले हट्रिक गरेका थिए भने एभरेस्टलाई पहिलो हाफसम्म १ का विरुद्ध ४ गोलले अग्रता दिलाएका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा एभरेस्टका क्याप्टेन युवराज श्रेष्ठले गोल गर्दै आफ्नो टिमको गोल स्कोर ५ पुर्‍याएका थिए । दोस्रो हाफको १२ औँ मिनेटमा दीपेश तामाङले गोल गर्दै हाट खोलालाई खेलमा फर्काउने कोसिस गरे पनि त्यस पछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा एभरेस्टले हाट खोला माथि २-५ गोलको फराकिलो जित निकाल्दै फाइनल यात्राको टिकट पक्का पारेको थियो ।

खेलमा ह्याट्रिक पूरा गरेका एभरेस्टका निशान लिम्बू म्यान अफ द म्याच घोषित समेत भए । उनले नगर १ हजार र ट्रफी प्राप्त गरे ।

फाइनल खेल आइतबार हुनेछ । चतरा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४५ हजार उप-विजेताले २० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव दिनेश राईले बताए ।

शनिवार बिहान बेलका फुटबल र माउन्टेन एभरेस्ट क्लबका बिच महिला फुटबलको मैत्रीपूर्ण खेल र बेलुका भेट्रानहरुको मैत्रीपूर्ण फुटबल खेल हुनेछ ।