झापा : झापामा पिकअप भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रवार साँझ दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमा उभिरहेका सोही ठाउँका ४० वर्षीय मिना पौडेल र उनकी १५ वर्षीय छोरी आइसा पौडेललाई ठक्कर दिएको थियो।

दुर्घटनामा आमाछोरीलाई ठक्कर दिएर पिकअप पल्टिदा पिकअपमा सवार कनकाई नगरपालिका-९ निवासी ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री समेत घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा छोरी आइसाको मृत्यु भएको हो ।

आमा मिनाको दाहिने खुट्टा,अनुहार र नाकमा चोट लागेको छ भने बोहराको अवस्था सामान्य रहेको छ। दुर्घटनामा परी पिक अप चालक कनकाई नगरपालिका-८ स्थित घैलाडुब्बा निवासी ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचार पश्चात् इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए ।