इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिकाको नेपाली काँग्रेस सभापतिमा भक्ति प्रसाद सिटौलाको प्यानलै विजयी भएको छ । कुल २४२ मतदाता मध्ये कोइराला पक्षका उम्मेदवार सिटौलाले १६९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार महेन्द्र धिमालले ६७ मत प्राप्त गरेका छन् । पूर्व महासमिति सदस्य समेत रहेका सिटौला सुन्दरहरैचाका अभिभावक काँग्रेसको रूपमा चिनिन्छन् ।

त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै रञ्जित थापा र शिवनारायण चौधरी निर्वाचित भएका छन् । सचिवमा होमनाथ पोखरेल र दिलीप थापा विजयी भएका हुन् । सहसचिवमा भने सर्वसम्मत रूपमा संस्थापन पक्षका टेकराज तिम्सिना र होमनाथ थापा चयन भएका छन् ।

यस अघि संस्थापन पक्षबाट सभापतिका उम्मेदवार मानिएका चैतन्य प्रसाद सिटौला क्षेत्रीय प्रतिनिधिमै पराजित भएपछि धिमालले उम्मेदवारी दिएका हुन् । क्षेत्रीय प्रतिनिधिमा कमजोर मानिएको संस्थापन पक्षले सहमतिको प्रयास गर्दा पनि नभएपछि शनिवार निर्वाचन भएको हो ।