इटहरी : नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दीपक चापागाईँ विजयी भएका छन्। ३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी सभापतिमा निर्वाचित भएका हुन्।

डाक्टर शेखर कोइराला निकट मानिएका उनी सोही समूहका २ जना उम्मेदवारको कारण समस्यामा थिए। तर संस्थापन समूह र आफ्नै समूहका उम्मेदवारको बिचबाट उनी भारी मतान्तरले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत ल्याउँदा चापागाईँले २१२ मतसहित महानगरको सभापति भएका हुन्।

प्रदेश १ को एक मात्र महानगर विराटनगर को सभापतिको निर्वाचनलाई निक्कै चासोका साथ हेरिएको थियो। संस्थापन पक्षका न्यौपानेले १६५ मत ल्याउँदा कोइराला समूहकै प्रतिस्पर्धी कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका छन्।

उपसभापतिमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजेन्द्र भट्टराई, सह-सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएका छन्। शनिवार सम्पन्न निर्वाचनको आइतबार बिहान मत परिणाम आएको हो।

त्यससँगै मोरङको सुन्दरहरैचामा भक्ति प्रसाद सिटौला निर्वाचित भएका छन् । कुल २४२ मतदाता मध्ये सिटौलाले १६९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी महेन्द्र धिमालले ६७ मत प्राप्त गरेका छन् । बेलबारी नगर सभापतिमा शम्भु भट्टराईलाई पराजित गर्दै छत्र लिम्बु विजयी भएका छन्। लिम्बुले १ सय ३६ र भट्टराईले ९४ मत प्राप्त गरे। सुनिबर्सी नगरपालिका सभापतिमा कमल किशोर सिंह १०५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी महेश्वर राजवंशीले ८९ र बैजनाथ झाले ८ मत प्राप्त गरेका छन्।

कटहरी गाउँपालिका सभापतिमा हरिनारायण माझीलाई पराजित गर्दै रामकुमार कामत ८४ मतका साथ विजयी भएका छन् । कामतले ८४ पाउँदा माझीले ४४ र शम्भु साहले ४ मत पाएका छन्। कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ र सभापतिका उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गरे।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन्। राईले १३४ र अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे। धनपालथान गाउँपालिका सभापतिका उम्मेदवार दीपकवीर पाण्डे ८३ मतका साथ विजयी भएका छन्। उनको प्रतिस्पर्धी उम्मेदवार वासुदेव रायले ३७ मत प्राप्त गरेका छन्।