धरान : शनिवार प्रदेश १ मा भएका तिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामीण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालीगुराँस नगरपालिका-५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको छ।

सोही ट्याक्टरमा सवार रहेका लालीगुराँस नगरपालिका-५ का १६ वर्षीय हिम बहादुर सार्की घाइते भई उपचारको लागी धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका-१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल आफै अनिमन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक दुहबी नगरपालिका-११ का ४५ वर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यस्तै दुहबी नगरपालिका-८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका-५ का ७२ वर्षीय पवनलाल चौधरीलाई ठक्कर दिँदा घाइते भई उपचारको लागी विराट मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।