धरान : कोसी टप्पु वन्यजन्तु आरक्षमा लामो समय देखि बस्दै आएको मकुना नामक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा ५ सय मिटरको दूरीमा मकुना आज बिहान मृत अवस्थामा भेटिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको जस्तो देखिन्छ । अहिले प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । आरक्षको मध्यवर्ती क्षेत्रको धानवारिमा मृत भेटिएको हात्तीको मृत्युको कारण तत्काल खुल्न सकेको छैन ।

केही समय अघि मकुनाले नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो । तर, सर्वत्र विरोधपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको थियो । मकुना हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा लामो समय देखि बस्दै आएको रैथाने जङ्गली हात्ती हो ।

चितवनमा सरकारले खर्च गरेर हात्ती प्रजनन केन्द्र बनाएको छ तर कोसी टप्पुमा मकुना हात्तीको कारण प्राकृतिक हात्ती प्रजनन केन्द्र भएको थियो । हात्ती मरेको भन्ने खबरले आफूलाई दुखी बनाएको कोसी टप्पु वन्यजन्तु आरक्षका पूर्व वार्डेन रामदेव चौधरीले टेलिफोनमा बताए ।

कोसी टप्पुको वरपर विध्वंस मच्चाए पनि मकुना आरक्षको गहना थियो अव मरेपछि कोसी टप्पु आउने आन्तरिक तथा बाहिय पर्यटकहरूले जङ्गली हात्ती हेर्न नपाउने भएका छन् । मकुना हात्ती आरक्ष स्थापना ताका देखिनै कोसी टप्पुमा बस्दै आएको दाबी गरिएको छ । पहिले आउने जाने गर्दथ्यो भने पछिल्लो समय कोसी टप्पुमै निरन्तर बस्दै आएको बताईएको छ।

मकुना हात्तीकै कारण आरक्षमा रहेका हात्तीमा प्राकृतिक प्रजननबाट अहिले सम्म ६ वटा हात्तीको बच्चा समेत जन्मिएको बताइएको छ। हात्ती के कारणले मरेको हो भन्ने बारेमा अहिले अनुसन्धान भइरहेको आरक्ष कार्यालयले जनाएको छ ।