धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय (रिट) समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दा र वैदेशिक रोजगार ठगी कसूर मुद्दामा कसुरदार ठहरी फरार भएका २ जनालाई आज पक्राउ गरेर अदालतमा पेस गरेपछि कारागार चलान गरेको छ ।

केही सार्वजनिक अपराध मुद्दामा मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले २ हजार जरिवाना भई लगत नं. ५६४९ र नकबजनी चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ महिना २ दिन कैद तथा ६ हजार जरिवाना भई लगत नं.-३५०९ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका मोरङ विराटनगर महानगरपालिका-८ का ३४ वर्षीय अजय रायलाई खोजतलास गर्दा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा दाखिला प्रहरीले गरेको र मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।

यसै गरी सुनसरी जिल्ला अदालतको मिति २०७२ चैत १ गतेको फैसला आदेशले क्रमशः ३ वर्ष कैद तथा ३ लाख जरिवाना भई लगत नं.- ७१८७ मा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका-९ घर भई हाल धरान ७ का ३४ वर्षीय रबिन बोगटीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको तथा सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।