धरान : धरान जेसीजको वार्षिक योजना अन्तरगत समुदायलाई लक्षित कार्यक्रम 'जेसीज सप्ताह-२०२१' आइतबारबाट सुरु भएको छ।

एक हप्ता भरि प्रत्येक दिन फरक-फरक प्रकारका सामुदायिक कार्यक्रम आयोजना हुने सप्ताहको पहिलो दिन उद्घाटनसँगै “स्वस्थ जीवनको लागि साइकल” को नाराको साथ साइकल यात्रा कार्यक्रम सञ्चालन गरिएको छ । उक्त साइकल यात्रामा सुनसरी साइक्लिङ एसोसिएसन, धरान जेसीज, तरहरा जेसीज, तहरा साइक्लिङ एसोसिएसन, पी.एच.आर.एन.लगायतबाट ५० जना साइकल यात्रीले सहभागिता जनाएका छन् ।

धरानको छोटो दुरीको पर्यटकीय स्थलहरूलाई प्रवर्द्धन स्वरूप आयोजित साइकल यात्रा धरान-२ स्थित रुद्राक्ष पार्कबाट सुरु भई क्रमशः भानुचौक, छाता चौक लक्ष्मी चौक, विजयपुर चौक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर हुँदै धरान-३ चिनिया चौक स्थित धरान जेसीजको सचिवालयमा आएर टुङ्गिएको थियो ।

साइकल यात्रा पश्चात् सचिवालयमा धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँबरद्धारा जेसीज सप्ताहको उद्घाटन गरिएको थियो ।

धरान जेसीजकी समुदाय तर्फकी कार्यकारिणी उपाध्यक्ष आयुष्यमा लिम्बु (खेमकला) को मूल संयोजन तथा सदस्य राजेन्द्र रिजालको संयोजनमा आयोजित उक्त कार्यक्रममा धरान जेसीजका पदाधिकारी, पूर्व अध्यक्ष, प्रथम महिला, सुपरिवेक्षक तथा विभिन्न संस्थाहरूको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

यसैगरी सप्ताहको दोस्रो दिन मैत्रीपूर्ण फुटसल प्रतियोगिता, तेस्रो दिन विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको लागि शैक्षिक सामाग्री वितरण, चौथो दिन सामुदायिक स्वास्थ्य परीक्षण कार्यक्रम, पाँचौँ दिन उद्घोषण कला तालिम, छैठौं दिन वक्तृत्वकला प्रतियोगिता र सातौँ दिन सप्ताह समापन कार्यक्रम हुने मूल संयोजक समितिका आयुष्यमा लिम्बु (खेमकला)ले जानकारी दिइन्।

Jesij