धरान : चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा उपभोक्ताहरूलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू गर्न थालेको छ ।

आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूलाई कुनै पनि सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको हो ।

उनीहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरेले आवश्यक परेको खण्डमा खाद्य स्वच्छता सम्बन्धी प्राविधिक शिक्षा दिने बताउँदै प्रोजेक्टर मार्फत खाद्य स्वच्छता, गुणस्तरीय वस्तु उपभोग गर्न, पोषण शिक्षाको बारेमा जानकारी दिईएकोे थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले उपभोक्ताहरूलाई कुनै पनि सामान खरिद गर्दा उत्पादन भएको मिति, सकिने मिति र त्यससँगै लेखिएको मूल्य हेरेर मात्र खरिद गर्न आग्रह गरे ।

मेयर राईले यसबारेमा बेलाबेलामा सचेतनामूलक कार्यक्रमहरू गरेर उपभोक्ताहरूलाई सचेत गराउनुपर्नेमा जोड दिए । मेयर राईले व्यापारीहरूलाई सचेत गराउने जिम्मेवारी नै उपभोक्ताहरूको रहेको बताउँदै सबै कुरामा ग्राहक नै सक्षम हुनुपर्ने बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले सङ्घले धरान लगायत सुनसरीका धेरै स्थानहरूमा गत वर्षदेखि नै यस्तो सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । व्यवसायी र उपभोक्ताहरूबाट पनि कमीकमजोरी हुनसक्ने बताउँदै अध्यक्ष सापकोटाले कसैको हल्लाको पछि लागेर आवश्यकता भन्दा बढी खाद्य सामाग्री सञ्चित नगर्न पनि आग्रह गरे ।

उनले कुनै पनि सामान खरिद गर्दा लेवलिङ हेरेर मात्र सामान खरिद गर्न आग्रह गरे । बाहिर देशबाट खरिद गरेर ल्याउनु परेका कारण मूल्यवृद्धि भएको उनले प्रस्ट पारे । उनले धरानका नौ वटा राजनीतिक दल र विभिन्न सङ्घ संस्थाहरूले मूल्य निर्धारण गर्न सङ्घमा ज्ञापन पत्र बुझाएको पनि बताए ।

धरान-१६ का वडाध्यक्ष दिल कुमार गिरीले खाद्य स्वच्छता सम्बन्धी धरान १६ का टोल विकास संस्था र उपभोक्ताहरूले थाहा पाउन जरुरी रहेकोले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।