इटहरी : नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको जिम्मेवारी बाँडफाँडमा सुनसरीमा अनौठो दृश्य देखिएको छ । यसअघि नेकपा हुँदा सुनसरी अध्यक्ष रहेका योगेन्द्रप्रसाद मण्डल माओवादी व्युतीएपछि सह-इन्चार्ज भएका छन् । यसअघि ठुलो पार्टी हुँदा ठुलो भूमिकामा रहेको उनको पार्टी सानो भएपछि घटुवा भएको हो।

प्रदेश समितिले मिलाएको कार्य विभाजनमा पुराना कार्यकर्तालाई भन्दा नयाँलाई प्राथमिकता दिइएको छ । भर्खरै पार्टी प्रवेश गरेको सुरेन्द्र मेहतालाई संयोजक बनाएर मण्डललाई सह इन्चार्ज बनाइएको हो।

त्यस्तै सुनसरीकै मुक्साहाङ मेन्याङ्बो आदिवासी जनजाति महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनहरूको इन्चार्ज भएका छन् । अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, प्रेस सङ्गठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी, नेपाल मुस्लिम सङ्गठनको इन्चार्जमा मो.जाकिर हुसेनलाई जिम्मेवारी दिइएको छ।

मण्डलको जिम्मेवारीमा चित्त नबुझेपछि प्रदेश पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नयाँलाई अवसर दिने बहानामा अन्याय गर्न नपाइने भन्दै तालाबन्दी गरिएको हो । संयोजकको हिसाबमा विज्ञप्ति निकाल्दै मण्डलले गुटगत राजनीतिलाई प्रशय दिनको लागी पार्टी सङ्गठन ध्वस्त बनाउने काम भएको उनको आरोप छ । जिम्मेवारी बाँडफाँडको विषय पुनरावलोकन नगरे थप सङ्घर्ष गरिने उनको भनाई छ।