धरान : धरान उपमहानगरपालिका वडा नं. ६ पानवारिमा प्रेमीले धोका दिएर आत्महत्या गरेकी भनिएकी युवतीको प्रेमीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।

शनिवार राति करिब ७ बजेतिर २५ वर्षीय मनीषा मगरले माइतीघरमा नै आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गर्नुको मुख्य कारण उनको प्रेमीले धोका दिएर भएको भन्दै मृतकका आफन्तले आत्महत्या दुरुत्साहनमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि धरान-६ कै ३२ वर्षीय सुनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक मनीषाको झापामा विवाह भएको थियो । उनको ७ वर्षको छोरा छ । विवाह भए पनि मनीषाको पानवारिकै सुनिल बस्नेतसँग प्रेम थियो । ती युवाले श्रीमान् छोडेर आए स्वीकार गर्ने भनेपछि मनीषाले करिब ३ वर्षअघि फर्केर माइती आएर बस्दै आएको बताइएको छ। बस्नेत विदेशमा रहँदा मनीषालाई विदेशबाट खर्च पठाएर काठमाण्डौमा राखेको आफन्तले प्रहरीलाई जानकारी दिएका छन् ।

यसपटक केटा विदेशबाट घर आएर सोमबार म अर्कै केटी भगाउदैछु भनेको र त्यसपछि शुक्रवार नै मनीषा धरान आएर केटा भेट्न खोज्दा कतै नभेटेको र वडाध्यक्ष, प्रहरीमा जाँदा पनि केही कसैले वास्ता नगरेपछि उनी झुन्डिन बाध्य भएको आफन्तले बताएका छन् ।

मृतकको शव मुचुल्का उठाएर आइतबार घटनास्थलबाट उठाएर आइतबार नै पोस्टमार्टम गरी परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेका उनका प्रेमी माथि आत्महत्या दुरुत्साहन मुद्दा परेकोले घटनाको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।