विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । गत आइतबारबाट जिल्ला अदालत मोरङमा सुरु भएको सुनुवाइ हिजो सकिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा एक साता यता जारी सुनुवाइ हिजो आइतबार सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए ।

उनका अनुसार प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि आइतबार नै सरकारी वकिलको कार्यालयले प्रतिउत्तर बहस गरेको थियो । एक साता लामो बहस सकिएको बताउँदै उनले सोमबार नभए मङ्गलवार सम्म फैसला आइसक्ने बताए ।

आइतबार सरकारी वकिल कार्यालय मोरङका जिल्ला महान्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए ।

२०७४ साल माघ ९ गते दुबईबाट आयात भएको साढे ३३ किलो सुन गायब भएको थियो । गायब सुन खोज्ने क्रममा चुणामणी उप्रेती गोरेसहितको समूहको यातना दिने क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको हत्या गरेको थियो । उनको हत्या अनुसन्धानका क्रममा सुन तस्करीको गिरोह पत्ता लागेको थियो ।

अनुसन्धानपछि २०७५ वैशाख १९ गते ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर भएको थियो ।

दुई वटा पुरक अभियोग सहित सो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये २१ जना अझै फरार छन् । ५६ प्रतिवादीको तर्फबाट कानुन व्यवसायीले सात दिन बहस गरेका हुन् । सनम हत्याको प्रमाण र सुन तस्करीको विवरण पत्ता लागे पनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन ।

६ जनाको पक्षमा बहस :
आइतबार अदालतमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती सहित ६ जना प्रतिवादीको प्रतिरक्षामा दुई जना वरिष्ठ अधिवक्ता सहित कानुन व्यवसायीहरूले बहस गरेका थिए । गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे ।

व्यापारीको लगानी र प्रहरी अधिकारीसँगको ‘सेटिङ’मा गोरेको समूहले दुबईबाट नेपालतिर सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा करिब ३८ क्विन्टल सुन तस्करी गरेको पत्ता लागेको थियो ।

२०७४ साल माघ ९ गते गोरेको समूहले ल्याएको साढे ३३ किलो सुन गायब भएपछि २०७४ साल फागुन १८ गते करेन्ट लगाएर सनम शाक्यको हत्या भएको थियो । सनमको हत्या हुँदा उनलाई करेन्ट लगाएर यातना दिइरहेको भिडियो बाहिरिएको थियो । भिडियोमा सनम हत्यामा गोरेको संलग्नता देखिन्छ ।

हत्या गरेपछि एक रात धरानमा राखिएको सनमको शव भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद भएको थियो । शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कारपियो र मे १ च ५३९८ नम्बरको कार सहित प्रहरीले त्यति बेला मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो ।

फरार रहेका गोरेलाई प्रहरीले २०७५ साल जेठ ९ गते मोरङ अदालतमा हाजिर गराएको थियो । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन् ।

आइतबार सनमको शव बरामद हुँदा पक्राउ परेका टेकराज मल्ल ठकुरीको पक्षमा अधिवक्ता नारायणप्रसाद दाहालले बहस गरे । नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीको पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरू रामचन्द्र सुवेदी एवं देवेन्द्र कोइरालाले बहस गरे ।

जिल्ला अदालत मोरङको आदेशबाट थुनामा पुगेका उनी उच्च अदालत विराटनगरको आदेशबाट छुटेका थिए । डिआइजीमा बढुवा भइसकेका लोहनी अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख छन् ।

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता रामचन्द्र गौतमले मुद्दाका प्रतिवादी डिएसपी प्रजित केसीको पक्षमा बहस गरे । सई बालकृष्ण सन्जेलको पक्षमा अधिवक्ता आशिष् अधिकारी र विनोद तिम्सिनाले बहस गरे । मोरङ अदालतले केसी र सन्जेल दुवै जनालाई थुनामा राख्न आदेश दिएको थियो । पछि उच्च अदालतको आदेशबाट उनीहरू छुटेका थिए ।

अधिवक्ता भरतबहादुर थापाले हरिशरण खड्काको पक्षमा बहस गरे । मोरङ अदालतको आदेशबाट थुनामा रहेका उनी अहिले कारागारमै छन् ।

अभियुक्तहरू कपिलराज पुरीको तर्फबाट अधिवक्ता भक्तिनाथ माझी र गोपालकुमार श्रेष्ठको तर्फबाट अधिवक्ता कृष्ण दाहालले बहस गरे । सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको जालो भेटिए पछि छानबिनका लागि गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा ७७ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको उल्लेख छ ।