धरान : झापा र खोटाङमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार झापाको कनकाई नगरपालिका-२ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो दिउसो साढे २ बजे घिरौँला टिप्न रुख चढेका राईको रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोबेल अस्पताल विराटनगर ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्रङमा ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भीर घाइते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।