इटहरी : आइतबार साँझ इभिनिङ वाकमा हिँडेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरी-८ भुर्कीमा ६ जना युवाको समूहले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार पछि पीडितको उजुरीको आधारमा ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एक जना अझै फरार छन् ।

पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार युवाहरूले कुटपिट गरी धानवारिमा लगेर जबरजस्ती करणी गरेका हुन् । उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार समेत लुटेर भागेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए ।

पीडितको अनुहारमा शरीरका विभिन्न भागमा कुटपिट गरेको देखिएको उनको भनाई छ । पक्राउ परेका मध्ये ४ जना १८ वर्ष मुनीका किशोर भएको र १ जना २७ वर्षका युवा रहेको केसीले जानकारी दिए ।

त्यही अनुसार इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ। बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।

sunil chaudry
पक्राउ परेका अभियुक्त इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरी