यासोक : पाँचथरको कुम्मायक गाउँपालिका-१ का फरक क्षमता भएका उत्सव बराललाई तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले आर्थिक सहयोग गरेको छ। शारीरिक रूपमा फरक क्षमता भएका कुम्मायक-१ का ८ वर्षीय बराललाई मिडिया ग्रुपले १९ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो।

मिडिया ग्रुप प्रवास नेपालको सहयोग र पत्रकार रमेश थापाको समन्वयमा इजरायल, साउदी, दुबई लगायत स्वदेश र विदेशबाट रकम सङ्कलन गरी गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ मार्फत रकम हस्तान्तरण गरिएको हो।

सोमवार बालकका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष चेम्जोङले खाडी देश र स्वदेशमा रहेर पनि गाउँपालिकाका नागरिकको पक्षमा सहयोग गरेको स्मरण गर्दै दाताहरूको प्रशंसा गरे । उनले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिन जोड दिँदै सामाजिक कर्ममा क्रियाशील तिनजुरे मिडिया ग्रुपको उन्नति र प्रगतिको शुभकामना समेत दिए ।

विगत पाँच वर्षदेखि सामाजिक कार्यमा क्रियाशील मिडिया ग्रुपले ४२ औँ सहयोगको रूपमा उत्सवलाई सहयोग गरेको तेह्रथुम घर भई हाल इजरायल बसोबास गर्दै आएका प्रा.लिका अध्यक्ष देव बास्कोटाले बताए। उत्सवको सानै उमेरमा खुट्टामा घाउ देखापरेपछि उपचारमा परिवारले ठुलो खर्च गरेको थियो । तर उपचार सफल नभएपछि खुट्टा काट्नु परेको थियो । जसका कारण अहिले कृत्रिम खुट्टा र बैसाखीको सहारामा परिवारले हेरचाह गर्दै आएको छ।

सहयोग रकमले बालकको हेरविचार र पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।