धरान : धरान उपमहानगरपालिका वडानं. ६ पानवारिमा माइतीघरमा भुण्डिएर आत्महत्या गरेकी मनीषा मगरको प्रेमी भनिएका सुनिल बस्नेतलाई प्रहरीले ७ दिन म्याद थप गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतकका बहिनीले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि प्रहरीले आइतबार नै प्रेमी भनिएका बस्नेतलाई पक्राउ गरेको थियो ।

मृतकको बहिनीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको र जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

झापा विवाह गरेकी मनीषा र बस्नेतबिच विवाह अघिदेखि नै प्रेम सम्बन्ध रहेको थियो । ७ वर्षको छोरा समेत रहेकी मनीषालाई श्रीमान् छोडेर आए बस्नेतले नै स्वीकार गर्ने आश्वासन दिएपछि मनीषाले श्रीमान् छोडेर करिब ३ वर्षअघि माइती आएको उनको आफन्तले बताएका छन् । विदेशमा रहेका बस्नेतले खर्च पठाएर मनीषा काठमाण्डौंमा बस्दै आएकी थिइन् ।

यस पटक विदेशबाट आएपछि प्रेमी बस्नेतले मनीषालाई सोमबार अर्को केटी भगाउदैछु भनेपछि काठमाण्डौंबाट शुक्रवार मनीषा धरान आएकी थिइन् । उनले शनिवार बिहानैदेखि सुनिललाई भेट्न प्रयास गरेकी थिइन् ।

उनले प्रेमी सुनिल बस्नेतलाई नभेटेपछि वडाध्यक्ष र प्रहरीमा पुग्दा पनि कसैले वास्ता नगरेपछि शनिवार साँझ करिब ७ बजेतिर मनीषाले माइती घरमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।

मृतक मनीषाको आइतबार नै पोस्टमार्टम गरी अन्त्येष्टि गरिसकिएको छ । घटनाको बारेमा थप अनुसन्धान अगाडी बढाइएको धरान प्रहरीले जनाएको छ ।