धरान : तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा धरान तेस्रो भएको छ ।

सिराहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उप-प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा धरान तेस्रो भएको हो ।

धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँ सहित शिल्ड र प्रमाण पत्र हात पारेको हो । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई तेस्रो भएको जनाउँदै शिल्ड र प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

सुनसरी जिल्ला कराँते सङ्घका अध्यक्ष कुबेर राईका अनुसार प्रतियोगितामा पुरुषतर्फ विवेक राई कातामा प्रथम भए भने महिलातर्फ कातामा रेणु राई तेस्रो भइन् ।

पुरुषतर्फ ६० केजी तौल समूहमा सन्तोष शर्मा प्रथम हुँदै उत्कृष्ट खेलाडी समेत घोषित भए । यस्तै, पुरुषतर्फ ६७ केजी तौल समूहमा रोहित बास्कोटा प्रथम भए भने महिलातर्फ ५५ केजी तौल समूहमा रेणु राई दोस्रो भइन्।

६० केजी तौल समूहमा रिया राई दोस्रो भइन् भने ६८ केजी तौल समूहमा जेनिशा राई पनि दोस्रो भइन् । यस्तै गरी, ५० केजी तौल समूहमा रविन मगर तेस्रो भए ३० केजी तौल समूहमा पिसिएस् विक तेस्रो भए । ३५ केजी तौल समूहमा अनिशा तामाङ तेस्रो भइन् ।

टिमका प्रशिक्षक उमेश तामाङले धरानबाट गएको समूह तेस्रो हुन सफल भएको जानकारी दिए ।