इटहरी : प्रदेशमा महत्त्वपूर्ण जिल्ला मानिएका झापा मोरङ र सुनसरीमा नेपाली काँग्रेसका संस्थापन इतरपक्ष बलियो देखिएको छ । नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तरगत तिनै जिल्लामा सम्पन्न पालिका अधिवेशनबाट संस्थापन पक्ष कमजोर भएको हो।

झापाका १५ वटै पालिकामा संस्थापन इतरपक्ष शक्तिशाली देखिएको छ । झापाका १५ मध्ये ११ पालिकामा निर्वाचनबाट र ४ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। सर्वसम्मत चयन भएका कचनकवल गाउँपालिकाका तुलाराम अधिकारी, हल्दिबारीका गङ्गा प्रसाईँ, झापा गाउँपालिकाका सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिका चक्र सेर्मा इतर पक्षका हुन् ।

निर्वाचन प्रक्रियाबाट बिर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वको प्यानलै निर्वाचित भएको छ । बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत र दमक नगरपालिकामा प्रकाश प्रसाईँ निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी भएको छ । बराबरी मत पाएपछि गोलाप्रथावाट न्यौपाने विजयी भएका हुन् ।

कनकाई नगरपालिकामा दुर्गा प्रसाईँ, गौरीगञ्ज गाउँपालिकामा अग्निप्रसाद राजवंशी, गौरादहमा यादव सेढाई, मेचीनगरको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल र शिवसताक्षीमा अशोक बस्नेत निर्वाचित भएका छन् । बुद्धशान्तीका सेर्मा, शिवसत्ताक्षीका बस्नेत र मेचीनगरका पनेरु विश्वप्रकाश निकट मानिए पनि पछि सिटौलाको टिमबाट सभापतिमा उम्मेदवार भएका थिए।

मोरङका १७ पालिकामध्ये १५ पालिकामा इतरपक्षका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको सभापतिमा डाक्टर शेखर कोइराला निकट दीपक चापागाईँ निर्वाचित भएका छन्। संस्थापन पक्षका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गर्दै चापागाँइ निर्वाचित भएका हुन् ।

मिक्लाजुङ गाउँपालिकाको सभापतिमा बबि राई, कानेपोखरीमा योगेन्द्र दाहाल, कटहरीमा रामकुमार कामत , धनपालथानमा दीपकवीर पाण्डे, बेलबारी नगरपालिकाको नगर सभापतिमा छत्र लिम्बू, सुनवर्सीमा कमल किशोर गनगाई, पथरीशनिश्चरेमा रूपनारायण भट्टराई, रङ्गेली नगरपालिकाको नगर सभापतिमा जगरनाथ मण्डल निर्वाचित भएका हुन्।

सुन्दरहरैंचा नगरपालिकामा भक्तिप्रसाद सिटौलाको प्यानलै विजयी भएको छ । लेटाङको नगर सभापतिमा दीपकचन्द्र राई , ग्रामथान गाउँपालिकाको सभापतिमा तुलसी विश्वास निर्वाचित भए । बूढीगंगा गाउँपालिकाका जितनारायण थापाले बाजी मारेका छन्।

मोरङको जहदा गाउँपालिका महेन्द्र मण्डल, केराबारी गाउँपालिका प्रकाश बस्नेत, उर्लाबारी नगरपालिका सुरेन्द्र लिम्बु, र रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत निर्विरोध चयन भएका छन् । त्यसमध्ये जहदा र धनपालथानमा मात्र संस्थापन पक्षले नेतृत्व पाएको छ । मोरङ संस्थापन इतर समूहका नेताहरूको बलियो उपस्थिति भएको जिल्ला हो । केन्द्रीय सभापति दाबी गर्दै आएका डा. कोइराला देखी, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, गुरुराज घिमिरे, सुजता कोइरालाको प्रभाव क्षेत्र हो मोरङ । त्यही प्रभावका बिच संस्थापन पक्षका अमृत अर्याल, रमेशजंग रायमाझी दिलीप गच्छदार छायामा परेका छन् ।

उता संस्थापन पक्षको बलियो उपस्थिति रहेको सुनसरी पनि इतर समूहको प्रभावमा परेको छ। संस्थापन पक्षका प्रभावशाली नेताहरू कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, विजय कुमार गच्छदार, मीन विश्वकर्मा, सिताराम मेहता र नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गानाको जिल्लामा इतर पक्ष बलियो देखिएको हो । संस्थापन पक्षले १२ मध्ये २ पालिकामा मात्र नेतृत्व पाएको छ ।

एक पालिकाको अधिवेशन बाँकी रहेकोले त्यहाँ पनि इतर समूहकै प्रभाव देखिएको छ । प्रदेश १ का दुई मात्र उपमहानगरपालिका रहेको सुनसरीका दुवै पालिकामा इतर पक्षले नेतृत्व पाएको छ ।