धरान : नेकपा माओवादी केन्द्रमा गुटको आन्तरिक विवाद चर्कँदै गएपछि धरानस्थित पार्टी कार्यालयमा युवाहरूले तालाबन्दी गरेका छन् ।

धरान-१४, पेरिस खोल्सीमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाइमा तालाबन्दी गरिएको हो ।

पार्टीभित्र गुट, उपगुटको विवादले समस्या सिर्जना गरेकोले गुटबन्दी अन्त्यको माग गर्दै वाइसिएलले ताला लगाएको वाइसिएल नगर अध्यक्ष विजय लामाले बताए ।

माओवादी केन्द्रको धरान र सुनसरी जिल्ला कमिटीमा पछिल्लो समय विवाद चर्किँदै गएको छ । यही क्रममा धरानमा पनि विवाद देखिएको छ ।

जिल्ला समन्वय समितिले धरानको अध्यक्षमा फोक्वाहाङ सुब्बा चोत्लुङलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । जिल्लाको यो निर्णय खारेज गर्दै प्रदेश १ समितिले चोत्लुङलाई धरान उपमहानगर कमिटीको सहइञ्चार्ज बनाएको छ भने कार्यकारी अध्यक्षको जिम्मेवारी सचिव सुदर्शन श्रेष्ठले पाएका छन् । धरानको इन्चार्जमा अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ ।

सुनसरीका नेताहरू बिचमा आन्तरिक विवाद बढ्दै जाँदा पार्टी कार्यालयहरूमा धमाधम तालाबन्दी गर्न थालिएका छ । यो क्रममा धरानको विवाद जब सम्म समाधान हुँदैन तब सम्म तालाबन्दी जारी रहने अध्यक्ष लामाले बताए । गुटको विवाद अन्त्य हुनुपर्ने, आन्तरिक विवाद समाधान हुनुपर्ने युवाहरूले माग राख्दै तालाबन्दी गरेको बताइएको छ ।