धरान : धरान उपमहानगरपालिकाले टोल विकास संस्था (टीएलओ) हरूलाई कानुन सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

धरान उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य सङ्घको हलमा मङ्गलवार देखी टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो ।

आज पहिलो दिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए । बुधवार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरूलाई सचेतना कार्यक्रम दिइनेछ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले धरानका वडा नं. १ देखि २० सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरूलाई कानुन सम्बन्धी सचेतना कार्यक्रम गरिएको बताए । ‘जबसम्म नागरिकहरूले कुनै पनि कुराहरू बुझेका हुँदैनन्, तबसम्म कानुनको कार्यान्वयन हुन सक्दैन,’ मेयर राईले भने ।

नागरिकहरूलाई कानुन सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको मेयर राईको भनाई थियो । मेयर राईले कार्यक्रममा सहभागी भएका प्रतिनिधिहरूलाई बुझेको कुरा शेयर गर्न, नबुझेको कुरा बुझाउन आग्रह गर्दै अभ्यासले मानिसलाई परिपक्व बनाउने कुरामा जोड दिए ।

टिएलओमा आएका केशहरूलाई सहीढंगबाट मिलाउन सक्नुपर्ने बताउँदै मेयर राईले क्षमता अभिवृद्धि गर्नका लागि यस्तो तालिमको आयोजना गरिएको बताए ।

उपमहानगरपालिकाका कानुनी सल्लाहकार अवईन्द्र निरौलाले वडाको नगरपालिकाको, न्यायिक समितिको काम कर्तव्य के हो ? यी सबै कुरामा जानकारी हुन आवश्यक रहेको बताए । कानुनी सल्लाहकार जनार्दन कोइरालाले दुई दिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरूलाई कानुनको परिचय, कानुन निर्माणको प्रक्रियामा सहजीकरण गरिने जानकारी दिए ।

यस्तै, कार्यपालिकाकी सदस्य एवं न्यायिक समिति सदस्य विनीता बज्राचार्यले टिएलओले ल्याएको सल्लाह, सुझावहरूलाई लिएर न्यायिक समितिले काम गरिरहेको जानकारी दिए ।