इटहरी : इटहरीका निजी विद्यालयहरू आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विगत ६ महिना देखी बन्द रहेका विद्यालयहरू कात्तिक ४ गतेबाट सञ्चालन गर्न इटहरी उपमहानगरपालिका र नगर प्याब्सन बिच सहमति भएको हो ।

नगर प्याब्सनको नवनिर्वाचित कार्यसमितिको टोलीले उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुबेदीलाई भेटेर विद्यालय खुलाउनको लागि अनुरोध गर्दा दशैपछि देखी विद्यालय खुलाउने सहमति भएको प्याब्सन इटहरी नगर समितिका सचिव राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी उपचारार्थ इटहरी बाहिर रहेकाले तत्काल विद्यालय खुलाउने निर्णय गर्न नसकिएको र मेयर फर्कनुभए लगत्तै दशैपछि विद्यालय खुलाउने सहमति भएको बताइएको छ ।

उपमहानगरपालिकाबाट विद्यालय सञ्चालन गर्न दिइने भएपछि नगर प्याब्सनले कात्तिक ४ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनको लागि नगर क्षेत्रका सम्पूर्ण निजी बिद्यालयहरुलाई जानकारी गराएको सचिव श्रेष्ठले जानकारी दिए ।

सुनसरीका कतिपय स्थानीय तहमा एक महिनाअघिबाटै विद्यालय सञ्चालनमा आए पनि इटहरीमा कोरोना महामारी कायमै रहेको जनाउँदै विद्यालय सञ्चालनमा आएका थिएनन् । कोरोना महामारीका कारण भौतिक रूपमा विद्यालय सञ्चालनमा नआएपछि कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए । इटहरी नगर प्याब्सनमा एक सय भन्दा बढी निजी विद्यालय आबद्ध छन् ।