धरान : ६६ औँ प्रहरी दिवसको अवसरमा आज सङ्घीय इकाई प्रहरी कार्यालय धरानले ३२ जना अमर प्रहरीका परिवारका सदस्यहरूलाई सम्मान गरेको छ ।

धरान-१३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कर्तव्यपालनको क्रममा खटिदा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

त्यसअघि, कार्यालय परिसरमा स्थापना गरिएको अमर प्रहरी स्मारकमा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राई, विशिष्ट अतिथि एवं उपमेयर मञ्जु भण्डारी सुवेदी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित अतिथि एवं प्रहरी, पुर्वप्रहरी, अमर प्रहरीका परिवारजनहरूले पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Parahari-Diwas-4

सोही क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको थियो । पुरस्कृत हुने प्रहरीहरूमा इलाका प्रहरी कार्यालय पकलीमामा कार्यरत प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ, सङ्घीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत प्रहरी नायक निरीक्षक भीमबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रसनि दुर्गा प्रसाद घिमिरे, प्रसनि विश्वनाथ यादव, प्रहरी हवलदार धनबहादुर दरै, सङ्घीय प्रहरी इकाईमा कार्यरत प्रहरी हवलदार उर्मिला श्रेष्ठ, प्रहरी हवलदार वीरेन्द्र बहादुर पिठाकोटे मगर र जिल्ला प्रहरीमा कार्यरत प्रहरी हवलदार विजयकुमार यादव रहेका छन् ।

यसै गरी, नेपाल पुलिस स्कुल धरानमा कार्यरत प्रहरी जवान भानुभक्त बास्तोला, सङ्घीय प्रहरी इकाईमा कार्यरत जवान प्रदीप पाण्डे, जवान सुमित्रा खवास, जवान चन्द्रबहादुर धिमाल र सशस्त्र प्रहरी गुल्म धरानका जवान विवश लिम्बु पुरस्कृत भएका छन् । पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई सुनसरीका प्रजिअ उमेश ढकालले पुरस्कार वितरण गरेका थिए ।

यसै गरी सोही अवसरमा प्रदेश प्रहरी कल्याण कोषबाट दिइँदै आएको एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने वहलवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरीका परिवारका जेहेन्दार छोराछोरीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

Parahari-Diwas-8

सुनसरी जिल्लामा छनौट भएका ज्योति मावि इटहरीबाट एसइईमा ३.९६ जिपिए ल्याउन सफल प्रहरी नायब निरीक्षक डम्बरबहादुर दनुवारकी छोरी युनिका दनुवार ,यस्तै, ४ जिपिए ल्याएका प्रसनि एकनाथ खतिवडाका छोरा सौगात खतिवडा, ४ जिपिए ल्याएका प्रसनि रुद्रबहादुर खड्काकी छोरी अरुणा खड्का, नेपाल पुलिस स्कुल धरानबाट ३.९० जिपिए ल्याएका प्रहरी हवलदार कुमार राईकी छोरी श्रीयंका राई, पुलिस स्कुलबाटै ३.८० जिपिए ल्याएका प्रहरी हवलदार उर्मिला अधिकारीका छोरा उज्ज्वल कार्की, गोदावरी स्कुल इटहरीबाट ३.८० जिपिए ल्याएका प्रहरी हवलदार टेकबहादुर श्रेष्ठका छोरा कुशल श्रेष्ठले पनि छात्रवृत्ति पाएका छन् । उनीहरूलाई धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले छात्रवृत्ति वितरण गरेकी थिइन् ।

यस्तै, सोही कार्यक्रममा नेपाल पुलिस स्कुल धरानले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका पब्लिक स्कुल धरानमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रोशन सुवेदी र दोस्रो भएका नेपाल पुलिस स्कुलका कक्षा ९ का विद्यार्थी अदित दासलाई पनि पुरस्कृत गरिएको थियो । प्रथम भएका सुवेदीले नगद ५ हजार र दोस्रो भएका दासले नगद ३ हजार पुरस्कार पाएका छन् ।

Parahari-Diwas-5

प्रहरी दिवसकै अवसरमा प्रहरीलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, स्थानीय तह र व्यक्तिहरूलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । प्रहरी चौकी नरसिंह टप्पु सुनसरीको भवन निर्माणमा योगदान पुर्याउने भोक्राहा नरसिंह गाउँपालिका, लागुऔषध दुर्व्यसन नियन्त्रण अभियानमा योगदान दिएकी ओरेक नेपाल महेन्द्रनगर सुनसरीकी विमला नेपाल, प्रहरी चौकी निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएका धरान १५ का झमकबहादुर बस्नेतलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

Parahari-Diwas-9

यसै गरी, पत्रकारिताबाट योगदान पुर्‍याएका भैरब आङ्ला र महिला बालबालिका पुनर्स्थापना तथा व्यवस्थापन कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै माया घर नेपाल इटहरीलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि एवं मेयर तिलक राईले कदर पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, रत्न भण्डारी, मेयर तिलक राई लगायतले बोलेका थिए ।