चतरा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला अधिवेशनका लागि बराह क्षेत्रका कालुराम चौधरीले सुनसरीको सहसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। वराहक्षेत्र नगरपालिका वडा नं ८ का चौधरी हालका सुनसरी जिल्ला कार्य समिति सदस्य हुन्।

वडा अधिवेशनमा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित चौधरीले वडा कार्य समितिको पहिलो बैठकमा आफू जिल्ला सहसचिव पदको आकाङ्क्षी रहेको बताएका थिए । जिल्ला कार्य समितिको पदाधिकारी वराहक्षेत्र नगरपालिकाबाट प्रतिनिधित्व हुनु पर्ने र जिल्लाका कार्यक्रम, गतिविधिमा वराहक्षेत्रको महत्त्वपूर्ण उपस्थितिका लागि सहसचिवमा उम्मेदवारी प्रस्तुत गरेको चौधरीले बताए । उनले भने 'सङ्गठनलाई मजबुत बनाउन मेरो उम्मेदवारी हो । जिल्ला भर सम्बन्ध भएकाले सहसचिवमा उठेको र सबैलाई सहयोगको लागि अनुरोध गर्दछु।'

घटस्थापनाको दिन शुभकामना आदानप्रदान दिने उद्देश्यले आयोजना भएको वडा बैठकमा वर्तमान जिल्ला सदस्य शंकरकुमार बस्नेतले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेका छन्। तरुण दल हुँदै तत्कालीन महेन्द्रनगर काँग्रेसको गाऊ इकाईको सभापतिको जिम्मेवारी निर्वाह गरेका बस्नेतले १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सहयोग गर्न आग्रह गरे।

वडा सभापति खेमबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न बैठकमा युवा नेता रोशन खड्का र पूर्व शिक्षक सङ्घका नेता रामप्रताव बुढाथोकीले प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। तरुण विभागको प्रदेश १ सदस्य रहेका समेत रहेका खड्का लामो समय मकाउमा बसेर प्रवासबाटै काँग्रेसको राजनीति गरेका थिए ।

त्यस्तै शिक्षक सङ्घका पूर्व नेता बौद्धिक व्यक्तित्व रामप्रताम बुढाथोकीले पनि प्रदेश महाधिवेशनमै उम्मेदवारीको घोषणा गरेका छन् । सेवा निबृत भएर फुर्सदिलो समय काँग्रेसलाई खर्चिन भन्दै उनले सबैलाई मत दिएर जिताउन आग्रह गरेका छन्।

त्यस्तै यस अगाडि नै वडा नं ८ कै क्षेत्रीय प्रतिनिधि भीम कटवालले सामाजिक सञ्जाल मार्फत नै खस/आर्य कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदकालागि उम्मेद बन्ने घोषणा गरेका छन् भने १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेकी सुशीला खनाल पौडेलले पनि १४ औँ महाधिवेशनमा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमै उम्मेदवारी दिने बताएकी छन्।