विराटनगर : प्रदेश १ को मन्त्री परिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

केही स्थानीय तहहरूको वडाको सङ्ख्या र सिमाना हेरफेर सम्बन्धी स्थानीय तहहरूले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले सङ्घलाई सिफारिस गर्ने संवैधानिक प्रावधान अनुसार सङ्खुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका,उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाले प्रस्ताव गरे अनुसार वडाको सङ्ख्या र सिमाना हेरफेरका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । ती स्थानीय तहहरूले वडाको सङ्ख्या वृद्धि गर्न सिफारिस गरेका छन् ।

प्रदेशको राजस्वको श्रोत अत्यन्त न्यून भएकाले राजस्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजस्व अनुसन्धान कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशको आन्तरिक राजस्वको श्रोत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्ने छ ।

बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरेको छ । नियमावली स्वीकृत भए पछि सरकारले अव चाडै प्रदेश पर्यटन बोर्ड गठन गर्ने छ ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका ६ जना अस्थायी कर्मचारीहरूको असार मसान्तसम्म म्याद थप्ने निर्णय पनि गरेको छ ।

१४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । १४ जिम्मामा विषयगत कार्यालय स्थापनाको निर्णय यस अघि नै भइसकेको छ ।