इटहरी : इटहरीको अपस्टेयर्स फुडले 'माया' को कोसेली स्वरूप फ्रोजन म:म बजारमा ल्याएको छ । त्यससँगै मायाको कोसेलीमा मोमो उपहार दिन सकिने भएको हो । घरैमा पकाएर परिवारका साथ खान मिल्ने गरी मोमो तयार पारिएको छ । घरमा बनाउन झन्झट हुने मोमो अब बजारमा सहज रूपमा किन्न पाइने भएको छ ।

स्किल क्याम्पस अन्तरगत अपस्टेयर्स फुडले ‘माया’ को प्याकेटमा फ्रोजन फुड बजारमा ल्याएको हो । अपस्टेयर्सले पूर्वमै नौलो आयमको थालनी गरेको छ । अचार सहितका भेज, चिकेन र बफको प्याकेजीङ शुक्रवार देखी बजारमा उपलब्ध गराइने अपस्टेयर्सका म्यानेजर नवीन कार्कीले बताए ।

बिहीबार पत्रकार सम्मेलन गर्दे उनले खाद्य प्राविधिक सँगको निगरानीमा तयार भएकोले मोमो स्वास्थ्यकर भएको उनले बताए । लामो समयको परीक्षणमा माइनस १८ डिग्रीमा ९० दिनसम्म राखेर खान सकिने गरी तयार पारिएको उनको भनाई छ ।

बिना मेसिन हातबाटै उत्पादन गरिएका मोमोका परिकारको स्वादमा एकरूपता राख्ने प्रतिबद्धता जनाइएको छ। २४ पिसको प्याकेटमा शुक्रवार बाट इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर र साथी मार्टमा उपलब्ध हुने भएको हो। इटहरी बाहेक विराटनगर, बिर्तामोड, धरान, पथरी, इनरुवा लगायत सहरमा चाडै उपलब्ध गराइने कार्कीले जानकारी दिए । त्यससँगै अपस्टेयर्स क्याफे, दार्जेलीङ मम र ग्राउण्डस क्याफेमा सर्वथा उपलब्ध हुने भएको छ।

मायाको कोसेली स्वरूप उपहारको रूपमा मोमो दिन मिल्ने गरी नयाँ सुरुवात गरिएको स्किल क्याम्पसका सिइओ पृथ्वी पराजुलीले बताए । इटहरीमै पहिलो पटक क्याफे खोलेर हस्पिटालीटीको सुरुवात गरेका उनले मोमो पछि आईस क्युब, पानी लगायत बस्तुको उत्पादन गर्ने बताए ।

स्थानीयस्तरमै पनि नयाँ किसिमको उद्यमशीलता विकाश गर्न सकिने अवसर रहेको देखाउन आफू लागी परेको उनको भनाई छ । त्यसको लागी स्किल क्याम्पसको टिम अनवरत अध्ययनमा लागी रहेको उनले जानकारी दिए ।