झापा : नेपालीहरूको महान् चाड दशैं आजबाट सुरु भएको छ। दशैं भन्ने बित्तिकै मिठो मसिनो खाने चलन पुरानै हो । अरुबेला जे जस्तो खाए पनि, जे जस्तो लगाए पनि दशैंका बेला मिठो खाने र नयाँ कपडा लाउने हाम्रो पुरानै परम्परा हो ।

तर, दशैंका समयमा खानपानमा अलि बढी हेलचेक्र्याइँ गरिने हुँदा विभिन्न समस्याले सताउन सक्ने भन्दै चिकित्सिकहरुले चिन्ता व्यक्त गरेका छन् । खानपानमा हेलचेक्र्याइँ गर्दा मुटुसम्बन्धी समस्या देखिने भएकोले दशैँको समयमा खानेकुरामा विशेष ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् ।

४० वर्षभन्दा माथिका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुने सम्भावना धेरै हुने भएकाले खानेकुरा खाँदा आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ । दशैँमा माछा, मासुका साथै जाँडरक्सी पनि धेरै खाने चलन बढ्दै गएकाले मुटुको समस्या पनि बढ्ने जोखिम धेरै रहेको चिकित्सकहरू बताउँछन्।

एड्भान्स अस्पतालका चिकित्सक डा. रबिनरत्न रञ्जितकार चिल्लो र बोसो धेरै भएका, तारेका र भुटेका खानेकुरा कम मात्र खाने र जाँडरक्सी नखाने गरेर मुटुलाई बचाउन सकिने सुझाव दिन्छन्। दुई वा दुईभन्दा धेरै प्रकारका खानेकुरा एकैचोटी खान नहुने उनको सुझाव छ।

रातो मासुले कोलेष्ट्रोल बढ्ने भएकाले सकेसम्म सेतो मासु खाने गरे मुटु बचाउन सकिने मुटु रोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारीको भनाइ छ। धेरै जाँडरक्सी खाँदा मुटुमा रगत जम्ने र हृदयाघात हुने सम्भावना रहने र चाडपर्वको समयमा खानेकुरा ठिक्क मात्रै प्रयोग गर्न पनि चिकित्सकहरूले आग्रह गरेका छन्।