धरान : सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प अगाडी कोसी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मी प्रसाद लुइँटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट इटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लुइँटेलको घटनास्थलमानै मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक भारत विहार बेबसराई बथौली पञ्चायत ७ का ३५ वर्षीय चन्दन कुमार ताती इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

यसै गरी सङ्खुवासभाको खाँदवारि नगरपालिका २ चेवा स्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, भएको छ भने सहचालक घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक सङ्खुवासभा खाँदवारि नगरपालिका ५ लेलुवा का २५ वर्षीय मणि तामाङ रहेका छन् भने घाइते भएका सहचालक सोही स्थानका १९ वर्षीय महेन्द्र तामाङको धरानमा उपचार भईहेको छ ।

हिजो राती सवा ८ बजे चेवाबाट चारबर तर्फ जाँदै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटी गई दुवै जना घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारिमा पठाइएको हो ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका चालकको जिल्ला अस्पताल खाँदवारिमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाइते सहचालकलाई थप उपचारको लागी धरान पठाइएको थियो ।

ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भइरहेको छ । घटना सम्बन्धमा कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको छ ।