विराटनगर  : दसैँको दोस्रो दिन आज प्रदेश १ को नवौँ तथा हिउँदे अधिवेशन सुरु हुँदैछ ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने छ । विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भए पनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता हुनेछैन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारीका अनुसार आज संसदीय दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

उनका अनुसार विश्वासको मतका लागि प्रस्ताव पछि बस्ने बैठकमा जानेछ । ‘संसद्को कार्यसूची सभामुखले तयार गर्नुहुन्छ,’ उनले भने,‘ हिउँदे अधिवेशनको पहिलो बैठक भएकाले दलका नेताहरूले सम्बोधन गर्नुहुन्छ, विश्वासको मतका लागि प्रस्ताव आइतबार नभए सोमबार दर्ता हुन्छ ।’

नवौँ अधिवेशन प्रदेश सभाको नयाँ भवनमा हुँदैछ। भवन निर्माणमा दुई करोड ५९ लाख र आन्तरिक सजावटमा ५० लाख खर्च गरिएको प्रदेशसभा भवनको बुधवार मात्रै मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले घुमाउरो भाषामा दसैँपछि मात्रै विश्वासको मत लिने बताएका थिए । विपक्षी दलहरू भने ३० दिनभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने अडानमा छन् ।

नेकपा एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बैठक अघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने उनले बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैठक अघि एमाले संसदीय दलको बैठक बस्दै छ । संसदीय दलको बैठक नियमित रहेको मन्त्री तिवारीले जानकारी दिए ।

नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सत्ता पक्षसँग ४१ जना सांसद छन् । प्रतिपक्षी गठबन्धनसँग ५० सांसद छन् । प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

अविश्वासको प्रस्ताव आजै दर्ता हुन्छ : प्रतिपक्षी दल

प्रतिपक्षी दल नकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आजै संसद्मा प्रस्ताव टेबल गरेर दुई दिनपछि संसद्मा प्रक्रियामा लैजानुपर्ने बताउँछन् ।

असोज २५ गतेपछि मुख्यमन्त्रीलाई संविधानले नचिन्ने बताउँदै उनले विश्वासको मत लिन ढिलो गरे प्रदेश प्रमुखलाई बहुमतका लागि सरकार बनाउनका लागि आह्वान गर्ने बताए । ‘आज प्रस्ताव संसद्मा दर्ता गरेर दुई दिन भित्र प्रक्रियामा लैजानुपर्छ,’ उनले भने,‘ तर उहाँहरूले लाज पचाएर दसैँ मान्न खोजिरहनु भएको छ ।’

संसदीय नियमावलीमा प्रस्ताव दर्ता भएको दुई दिनपछि संसद्मा टेबल गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार आजै प्रस्ताव दर्ता प्रतिपक्षले दबाब दिइरहेको छ ।