धरान : सुनसरी प्रहरी अपहरणमा परेका १३ वर्षीय बालक दिपेन सदाको १० घण्टामा सकुशल उद्धार गर्न सफल भएको छ ।

हिजो दिउँसो करिब ३ बजे सुनसरीको कोसी गाउँपालिका वडा नं ७ नेपाल भारत सीमा नजिकैबाट अपहरणमा परेका थिए । अपहरणमा परेका बालकलाई भारतको सुपौल जिल्ला बलबदैपुर वडा नं ६ बैरयाकमालबाट भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आज रातको १ः५० बजेको समयमा उद्धार गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर वडा नं ६ बैरयाकमाल बस्ने मकुम मियाँ समेतको संलग्नतामा बालक सदाको अपहरण भएको बुझिएको छ। मकुम मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरू लैजाने ठेकेदार रहेको प्रहरीले जनाएको छ ।

मकुम मियाँलाई नेपाली कामदारहरू १५/२० जनाको सङ्ख्यामा उपलब्ध गराई दिन्छु भनी नेपाल तर्फ सुनसरी जिल्ला कोसी गाउँपालिका वडा नं ७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम दुई लाख पैसा भुक्तानी लिई कामदार नपठाएको र मकुम मियाँको सम्पर्कमा समेत नगएकाले मकुम मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै बालक दिपेन सदालाई अपहरण गरी लगिएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।

अपहरणको क्रममा मकुम मियाँ समेतको समूह २ वटा मोटरसाइकल ल्याएर बालकलाई मोटरसाइकलको बिचमा राखी नेपालबाट भारततर्फ अन्दाजी ३५ किलोमिटर पूर्व दक्षिण मकुम मियाँकै घरमा लगी राखेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ । अपहरण पश्चात् बालकलाई कुटपिट समेत गरेको पीडित बालकले बताएका छन् ।

अपहरण मुक्त भएका बालकलाई उनको अभिभावक आमा र बुवा गणेशजी सदाको जिम्मा प्रहरीले लगाएको छ । यो घटनालाई अपहरण तथा शरीर बन्धक शीर्षक अन्तर्गत आवश्यक थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।