धरान : नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
२९ असारमा सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । बिहीबार मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी थिइन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेकी थिइन् ।

वर्तमान सरकारमा काङ्ग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)बाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट १ राज्यमन्त्रीसहित ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री बनेका छन् भने एक गैरसांसद् मन्त्री बनेका छन् ।