इटहरी : २०७४ को निर्वाचन नेपाली काँग्रेसले ऐतिहासिक पराजय भोग्नुपर्‍यो । स्थानीय तह देखी प्रदेश र सङ्घ सम्म नै काँग्रेसले बलियो उपस्थिति देखाउन सकेन ।

स्थानीय तहका केही स्थानमा तत्कालीन माओवादी केन्द्र सँग गठबन्धन गरेको काँग्रेस सङ्घ र प्रदेशमा एक्लै चुनावमा होमियो । स्थानीय तहकै कमजोर नतिजा आइसकेकाले सङ्घ र प्रदेशको नतिजामा काँग्रेस स्वतः कमजोर बन्दै गएको थियो । काँग्रेसको उर्वर भूमि मानिएको मोरङमा ६ क्षेत्रमध्ये प्रतिनिधिसभामा मिनेन्द्र रिजाल मात्र विजयी भए । कृष्ण सिटौलाको गृह जिल्ला झापामा एकै सिट आउन सकेन । कतिपय काँग्रेसको उर्वर क्षेत्रमा पनि पराजय भोग्नुपर्‍यो ।

त्यस्तो खडेरीको समयमा पनि सुनसरीले काँग्रेसलाई बचाएको हो । सुनसरीका सभापति राजीव कोइरालाको नेतृत्वमा परिचालन भएको काँग्रेसले ४ मध्ये ३ जना प्रतिनिधिसभा सदस्य निर्वाचित गरायो । भोजपुरमा सधैँ पराजित भएका ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमै आएर विजयी भए । उनी हाल सूचना तथा सञ्चार मन्त्री छन् । फोरम लोकतान्त्रिकबाट भर्खरै काँग्रेसमा पार्टी मर्ज गरेर चुनावी मैदानमा होमिएका विजय कुमार गच्छदार सहित सिताराम मेहता निर्वाचित भए । प्रदेश सभामा ८ मध्ये ३ र १२ वटा पालिका मध्ये ६ वटामा काँग्रेसको नेतृत्व छ ।

विगतमा कमजोर रहेको सुनसरी २०७४ को निर्वाचनमा बलियो जिल्लाको रूपमा देखा पर्‍यो । त्यो बलशाली काँग्रेसको पछाडि दुई कार्यकाल सभापति भएका राजीव कोइरालाको भूमिका महत्त्वपूर्ण मानिन्छ । सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् कोइराला । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता समेत रहेका कोइराला प्रदेश १ को विपक्षी गठबन्धन मध्ये सबैभन्दा ठुलो दलको नेता हुन् । काँग्रेसलाई बलियो बनाएका कोइराला आफू भने कमजोर भूमिकामा बस्न बाध्य भएका छन् ।

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि वर्तमान सरकार अल्पमतमा परेको छ । एमाले अल्पमतमा परेपछि विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । सोही निश्चिततामा पनि मुख्यमन्त्री बन्न नपाउने अवस्थामा पुगेका छन् दोस्रो ठुलो दलका नेता कोइराला ।

सङ्घीय सरकारमा मन्त्रीको भागबन्डा अनुसार प्रदेश १ सरकारको नेतृत्व नेकपा एसले पाउने भएको छ । प्रदेश सभामा १० सांसद भएको चौथो ठुलो दलका नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्ने भएका हुन् ।
२१ सांसद सहित दोस्रो ठुलो दलका नेता कोइराला केन्द्रीय समीकरणको चेपुवामा परेका छन् । सुनसरी काँग्रेसमा बलियो उपस्थिति देखाएका उनी ठुला नेताको तारो बनेका छन् । कोइराला मुख्यमन्त्री भए आफूहरू छायाँमा पर्ने डर ठुला नेतालाई परेको छ ।

भर्खरै सम्पन्न पालिका अधिवेशनमा पनि सुनसरीमा संस्थापन इतर पक्ष बलियो रूपमा देखापर्यो । १२ मध्ये ९ पालिकामा इतरपक्षको नेतृत्व छ । विगतमा मध्यमार्गी धारमा हिँडेका कोइराला पछिल्लो समय इतर पक्षमा खुलेर लागेका छन् ।

rajib-koirala

समर्थनको विकल्प छैन : कोइराला

काँग्रेस संसदीय दलका नेता कोइरालाले केन्द्रले गरेको निर्णय कार्यान्वयनको विकल्प नभएको बताएका छन् । केन्द्रीय नेतृत्व सँगको छलफल र कुराकानीमा नेकपा एसकै नेतृत्वमा सरकार बनाउन सहयोग गर्न तयार रहेको बताए । गठबन्धनको सरकार टिकाउनको लागी लेनदेन गर्दा आएको समीकरणलाई मानेर जानुपर्ने उनको भनाई छ ।