धरान : भोजपुरमा श्रीमतीलाई भरुवा बन्दुकले ताकी मार्छु भनी धाक धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राईलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । हिजो राती सवा ८ बजे घरायसी विवादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाइते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटी गई घाइते जुनालाई उपचारको लागी स्थानीय मेडिकल ओख्रेमा पठाइएको थियो ।

घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलबाट भरुवा बन्दुक, कोदालो पनि बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।