इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले चाडै नै गठबन्धन नेतृत्वको सरकार बन्ने बताएका छन् ।

प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको विजय दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दे कोइरालाले अब गुनासो गर्ने भन्दा पनि गठबन्धन सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताए ।

वर्तमान नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले अब गठबन्धनको नेतृत्वमा सरकार बन्ने उनको भनाई छ । केन्द्रीय समीकरण अनुसार नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने भएपछि आफूहरू सहयोग गर्न तयार हुनुपर्ने उनको भनाई छ ।

आफ्नै टिमको कोइराला र पौडेल पक्षका नेताहरू काँग्रेसको मुख्यमन्त्री बनाउन लागी नपरेको भन्दै उनले आक्रोश व्यक्त गरे । “कोइराला र पौडेलले मुखमा पानी हालेर गार्गल गर्दै थिए ? अनि काँग्रेसको मुख्यमन्त्री चाहीँयो भनेर तल कराउनको के अर्थ छ ?,” उनले प्रश्न गरे ।

प्रदेश १ मा एमालेको अहम्, द्वेष, घृणाको भावना बढेको कारण यो अवस्था आएको कोइरालाको बुझाई छ। अझै पनि एमालेले संविधान मिच्ने काम गरिरहेकाले संविधानको धारासँग खेलबाड नगर्न उनले चेतावनी दिएका छन् ।

फरक प्रसङ्गमा बोल्दै उनले पछिल्लो समय युवा पत्रकारहरूको सङ्ख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे। पत्रकारले आलोचना गरेको विषयलाई नेताहरूले आक्रोशको रूपमा लिन नहुने भन्दै उनले नेताहरू सच्चिने माध्यम नै पत्रकारको कलम भएको उनको भनाई छ।